पोखरा एक्सप्रेस ,काठमाडौँ ।
आगामी निर्वाचनका लागि भर्ना गर्न लागिएको म्यादी प्रहरी (निर्वाचन प्रहरी) मा सहभागी हुन काठमाडौँ उपत्यकाका युवाहरू निकै उत्साहित देखिएका छन्। उपत्यकाका तीनवटा जिल्ला प्रहरी परिसरहरूमा आवेदन दिनेहरूको ठुलो भिड लागेको छ, जहाँ छोटो अवधिमै हजारौँले फारम दर्ता गरिसकेका छन्।
काठमाडौँ, ललितपुर र भक्तपुरमा पुस २६ गतेदेखि आवेदन खुल्ला गरिएकोमा चार दिनको अवधिमै कुल ६ हजार ८ सय ५५ जनाले आवेदन दिएका छन्। जिल्ला प्रहरी परिसरका अनुसार मिति २०८२ पुस २९ गतेसम्ममा ४ हजार ८ सय ८० पुरुष, १ हजार ९ सय ७४ महिला र अन्य १ जना गरी उल्लेख्य सङ्ख्यामा नागरिकहरूले निर्वाचन सुरक्षामा खटिने इच्छा देखाउँदै आवेदन बुझाएका हुन्।
प्रहरीले आवेदन दिने समय सीमा आगामी माघ १ गते कार्यालय समयसम्म तोकेको छ। बाँकी रहेको दुई दिनमा आवेदन दिनेको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ।
स्वयंसेवी रूपमा निर्वाचनको सुरक्षामा खटिन पाउने र छोटो समयको रोजगारी समेत हुने भएकाले शैक्षिक योग्यता पुगेका युवादेखि अवकाश प्राप्त सुरक्षाकर्मीसम्मको यसमा आकर्षण देखिएको छ।
तपाईको प्रतिक्रिया