पोखरा एक्सप्रेस ,पोखरा ।
कास्कीको रुपा गाउँपालिकामा १८ दिन कार्य अवधिको ‘समुदाय विपद् स्वयंसेवक’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं। २४ गण हे।क्वा। कालिका कास्कीको आयोजना तथा रुपा गाउँपालिकाको सहकार्य र समन्वयमा गत चैत २५ गतेदेखि सुरु भएको उक्त तालिमको समापन गरिएको हो।

रुपा गाउँपालिका वडा नं. ५ को सभाहलमा आयोजित समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम गाउँपालिकाका अध्यक्ष नवराज ओझा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा करिब ५० देखि ५५ जनाको उपस्थिति रहेको थियो, जसमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
१८ दिन कार्य अवधिको उक्त तालिममा सहभागी ३५ जना प्रशिक्षार्थीहरूलाई विपद्को परिचय र विशेषता , नेपालमा विपद व्यवस्थापन प्रणाली, मेडिकल फस्ट रेस्पोन्डर, बाढी, पहिरो तथा डुबान ,अग्नि नियन्त्रण तथा वन डढेलो, रोप रेस्क्यु बाट गरिने उद्धार ,भूकम्पीय जोखिम न्यूनीकरण, सडक दुर्घटना र जोखिम न्यूनीकरण ,परिचय सुरक्षा सावधानीद्वारा सामग्री प्रयोग सम्बन्धी जानकारी विभिन्न किसिमका गाँठाहरूको परिचय, काम विभिन्न किसिमको बेस बनाउने तरिका, वाटर रेस्कु टेक्निक जस्ता विविध विषयहरुमा सैद्धान्तिक तथा व्यावहारिक दुवै पक्षमा ज्ञान दिलाइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष ओझाले तालिम प्राप्त स्वयंसेवकहरूले गाउँपालिकामा आइपर्ने प्राकृतिक एवं अन्य विपद्का समयमा अग्रपङ्क्तिमा खटिएर ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। सशस्त्र प्रहरी बलका तर्फबाट गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्त बहादुर सिंहले विपद्को अवस्थामा सबैभन्दा पहिला घटनास्थलमा पुग्ने समुदाय नै हुने भएकाले, आवश्यक ज्ञान र सीपको अभावमा क्षति बढ्न सक्छ भने उचित तालिम र तयारीले धेरै हदसम्म जनधनको क्षति न्यूनीकरण गर्न सक्षम हुने तथा सानो सीप र सीमित साधनले पनि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने यथार्थ यस तालिमले स्पष्ट पारेको बताउनुभयो।

तपाईको प्रतिक्रिया