पोखरा एक्सप्रेस ,काठमाडौं।
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि हुने नगद भुक्तानीको सीमा कटौती गर्दै नयाँ निर्देशन जारी गरेको छ।
केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै लघुवित्तले गर्ने नगद कारोबारको सीमालाई साविकको १० लाख रुपैयाँबाट घटाएर ५ लाख रुपैयाँमा झारेको हो।
साे व्यवस्था आगामी माघ १ गतेदेखि देशभरका ‘घ’ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त संस्थाहरूमा अनिवार्य रूपमा लागू हुनेछ। साे व्यवस्थाअनुसार अब कुनै पनि लघुवित्त वित्तीय संस्थाले ५ लाख रुपैयाँ वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा ‘एकाउन्ट पेयी’ चेकको प्रयोग गर्नुपर्नेछ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को उद्देश्यलाई सहयोग पुर्याउन र वित्तीय प्रणालीमा हुने ठुला नगद कारोबारलाई निरुत्साहित गरी पारदर्शिता कायम गर्न राष्ट्र बैंकले कडाइ गरेकाे हाे। यसअघि १० लाख रुपैयाँसम्मको नगद भुक्तानी गर्न पाइने सुविधा रहेकोमा अब सो सीमालाई आधाले घटाइएको छ।
तपाईको प्रतिक्रिया