पोखरा एक्सप्रेस ,पोखरा।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशका उच्च पदस्थ कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence – AI) को प्रयोग सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ। तालिम पुस २४ र २५ गते कुश्मा, पर्वतमा आयोजना गरिएको हो।
तालिममा गण्डकी प्रदेशका प्रमुख सचिव, सचिव, उपसचिव तथा शाखा अधिकृतहरू गरी जम्मा ३८ जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये ३३ जना पुरुष र ५ जना महिला रहेका थिए।
त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक रोमकान्त पाण्डेले स्रोत व्यक्तिको रूपमा सहजीकरण गर्नुभएको तालिममा सार्वजनिक सेवा प्रवाहमा एआईको प्रयोग, प्रम्प्ट इन्जिनियरिङ, विभिन्न एआई उपकरणहरू तथा तिनको उपयोग, साथै एआईको नैतिक प्रयोगका विषयमा विस्तृत रूपमा छलफल तथा अभ्यास गराइएको थियो।
तालिमले सरकारी सेवामा नवीन प्रविधिको प्रभावकारी प्रयोगमार्फत सेवा प्रवाहलाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया