पोखरा, २९ मंसिर ।
नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको महासचिवमा पोखरा एक्सप्रेस डट कम का सम्पादक जमुना वर्षा शर्मा निर्बाचित भएकी छन।
अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी गोविन्द सुवेदीलाई २२३ मतान्तरले पराजित गर्दै आगामी ३ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबाट साझा उम्मेदवार पौडेलले ४०१ मत प्राप्त गरेका छन् भने प्रेस सेन्टर, समाजवादी प्रेस संगठन लगायतबाट उम्मेदवार सुवेदीले १७८ मत प्राप्त गरे । गण्डकीमा प्रेस युनियन र प्रेस चौतारीकै साझा गठबन्धनका उम्मेदवारले चुनाव जितेका छन् ।
उपाध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्ष (महिला) मायाकुमारी अधिकारी, सचिव खुल्लामा भविश्वर पाण्डे, सचिव (समावेशी) रोशनी गुरुङ र कोषाध्यक्ष रमेश बस्ताकोटी निर्वाचित भए ।
खुला सदस्यमा विजय नेपाल, गणेश पहारी, जनक श्रेष्ठ, छविलाल पाण्डे, श्रीकृष्ण सिग्देल, ध्रुवराज सुवेदी र रोशन लामिछाने निर्वाचित भए ।
सदस्य (महिला) मा ज्योति हमाल, सपना अधिकारी र रञ्जिता शर्मा, सदस्य दलितमा विजय नेपाली, सदस्य (आज) मा पदम श्रेष्ठ र मञ्जुल शाक्य निर्वाचित भए ।
गण्डकी प्रदेशअन्तर्गत (गोरखा बाहेक) शुक्रबार मतदानको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले पोखरास्थित महासंघ प्रदेश कार्यालयमा सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बराल, अर्का सदस्य बिबि विष्ट र मनोज घर्तीमगरले निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यलाई माला र टीका लगाएर बधाई ज्ञापन गरे ।
नवनिर्वाचित अध्यक्ष पौडेलले आफूले प्राविधिक रुपमा जिते पनि यो सबै जनाको जित भएको र सँगै मिलेर पत्रकारको हकहितको पक्षमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्षका प्रत्यासी गोविन्द सुवेदीले जित हार स्वाभाविक भएको जनाउँदै नयाँ कार्यसमितिलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिए । पत्रकार महासंघ कास्कीको नयाँ अध्यक्षमा प्रेस चौतारी र युनियनकै साझा उम्मेदवार माधव बराल निर्वाचित भइसकेका छन् ।
तपाईको प्रतिक्रिया