बाढीको क्षतिमध्ये ७ अर्ब बिमा कम्पनीको दायित्व, साढे २ अर्बको दाबी पर्यो
- Pokhara Express
- २०८१ असोज २१ सोमबार

काठमाडौं। असोज १० गतेदेखि १२ गतेसम्मको वर्षासँगै आएको बाढीपहिरोले देशभर भएको क्षतिमा सवा ७ अर्ब रुपैयाँ बिमा कम्पनीहरुको दायित्वमा पर्ने देखिएको छ। नेपाल बिमा प्राधिकरणले बाढी पहिरोबाट भएको क्षत्तिको प्रारम्भिक निरिक्षण गरी वर्षाका कारण भएको क्षतिमध्ये ७ अर्ब २८ करोड रुपैयाँ बढी दावी भुक्तानी दिनु पर्ने अनुमान गरेको हो।
प्राधिकरणले असोज १४ गते नै बिमा कम्पनीहरुलाई २०८१ असोज १० गतेदेखि असोज १२ गतेसम्म आएको वर्षाका भएको क्षति संकलन गरी तत्काल दावी भुक्तानी गर्न निर्देशन दिएको थियो। उक्त निर्देशनपछि बिमा कम्पनीहरुले काठमाडौं उपत्यका लगायत देशको विभिन्न स्थानमा बाढीपहिरो तथा डुबानका कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति मूल्यांकन गरी प्राधिकरणमा तथ्यांक पठाएका थिए। कम्पनीहरुले प्राधिकरणमा पठाएको तथ्यांकअनुसार बिमा कम्पनीमा २ हजार ३ सय ३६ वटा दावी पर्ने र सो बराबर कुल ७ अर्ब २८ करोड ८५ लाख १९ हजार १ सय २ रुपैयाँ दावी भुक्तानी गर्नुपर्ने अनुमान गरिएको छ। असोज १६ गतेसम्म भने ९ वटा निर्जीवन बिमा कम्पनीमा २ अर्ब ६७ करोड ७२ लाख ९४ हजार ५ सय रुपैयाँ बराबरको ७ सय ९ वटा दावी परेको प्राधिकरणले जानकारी दिएको छ।
यद्यपि, कम्पनीहरुले गरेको अनुमानित दावी बढ्न सक्ने प्राधिकरणका प्रवक्ता सुशिलदेव सुवेदी बताउँछन्। ‘हामीले गत साता नै बिमा कम्पनीसँगै सर्भेयरलाई पनि प्रकोपको अवस्था र क्षतिमा पर्ने दावी मुल्यांकनको तथ्यांक प्राधिकरण पठाउन निर्देशन दिएका थियौं,’ प्राधिकरण प्रवक्ता सुवेदीले भने, ‘अनुमानित तथ्यांक आइसकेको छ जसमा अझै थप हुनसक्छ।’ उनले परेको दावीको भुक्तानी तत्काल गर्न निर्देशन दिइसकेको पनि बताए। पछिल्लो बाढीपहिरोका कारण मुलुकभर करिब १७ अर्ब रुपैयाँ बढीको क्षति भएको प्रधानमन्त्री कार्यालयको तथ्यांक छ। जसमध्ये बिमा गरिएको सम्पत्तिको क्षतिको दायित्व बिमा कम्पनीहरुले ब्यर्होने प्राधिकरण प्रवक्ता सुवेदी बताउछन्। प्राधिकरणबाट सम्पत्ति, मोटर, कृषि तथा पशुपक्षी, इन्जिनीयरिङ लगायतमा बिमा गरिएको सम्पत्तिको क्षति संकलन गरी प्राथमिकता निर्धारण गरी दावी भुक्तानी गर्न निर्जीवन बिमा कम्पनीहरुलाई निर्देशन दिइसकेको छ।
तपाईको प्रतिक्रिया