१३ असोज, काठमाडौं। भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ ।
बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका ५१ वर्षीय नेपालीलाई शनिबार काठमाडौं ल्याइएको हो । उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि काठमाडौं ल्याइएको छ ।
उनीहरु दुबै जना सहकारी ठगीको कसुरमा फरार थिए । यो सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए ।नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो भने १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो ।
पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए ।पक्राउ परेका मेयर नेपाली पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक समितिका उपाध्यक्ष समेत हुन् ।उनीहरुमाथि १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ । सूर्यदर्शन सहकारीमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया