पोखरा २७, साउन
बुहारी सशक्तीकरण समाज कास्कीले आफ्ना आजीवन सदस्यहरू र साधारण सदस्यहरूको लागि संस्था सञ्चालन सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष एवम् संस्थाकी सल्लाहकार जमुना वर्षा शर्माले संस्था सञ्चालन विधि, प्रक्रिया, र सदस्यहरूको जिम्मेवारीका बारेमा प्रशिक्षण दिनुभयो। उहाँले सस्थाले छोटो समयमै महत्वपूर्ण कार्यनगर्दै प्रभावशाली उपस्थिति बनाउन सफल भएको बताउनुभयो।
बुहारीहरूलाई एकताबद्ध गर्दै आपसी हित र परोपकारको भावना फैलाउनु, र महिलाहरूको आर्थिक, सामाजिक, र व्यावसायिक सशक्तीकरणमा योगदान पुर्याउनु समाजको सफलता भएको उहाँको भनाइ थियो। आमा मिलन केन्द्रका अध्यक्ष अभियन्ता इन्दिरा पौडेलले बुहारी सशक्तीकरण समाज कास्कीले आफ्ना सदस्यहरूलाई सशक्तीकरणको मार्गमा अघि बढाउन र समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो। संस्थाका अध्यक्ष निरु केसिले प्रशिक्षणबाट सदस्यहरूले संस्था सञ्चालनमा आवश्यक ज्ञान र सीप हासिल गर्न सफल भएको बताउनुभयो। उहाँले समाजको भविष्यलाई थप सशक्त बनाउन योगदान पुर्याउने सक्रिय सहभागी सदस्यहरूलाई धन्यवाद दिनुभयो।
उहाँले आगामी दिनमा यस संस्थाले सामाजिक सेवा कार्यलाई थप प्रभावकारी बनाउँदै, विभिन्न क्षेत्रहरूमा सञ्जाल निर्माण गर्ने, उपसमितिहरू गठन गर्ने, र आवश्यक आर्थिक स्रोत जुटाउने कार्यहरूलाई प्राथमिकतामा राख्ने योजना रहेको बताउनु भयो । संस्थाका सचिव सृष्टि भट्टराईले संस्थाले सदस्यहरूको सशक्तीकरणसँगै विभिन्न तालिमहरू, स्वास्थ्य शिविर, उद्यमशीलता विकासका कार्यक्रमहरू, तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्दै आएको र भविष्यमा अझ प्रभावकारी बनाउने लैजाने जानकारी दिनुभयो । सो अवसरमा संस्थाका विभिन्न गतिविधिहरूमा संयोजकको जिम्मेवारी लिनेहरूलाई सम्मान गरिएको थियो भने आर्थिक पारदर्शिताको बारेमा कोषाध्यक्ष कालिका चापागाईंले सदस्यहरूलाई जानकारी गराउनुभयो।
तपाईको प्रतिक्रिया