राष्ट्रिय महिला पत्रकारिता पुरस्कार स्थापना
- Pokhara Express
- २०८१ श्रावाण १६ बुधबार

पोखरा ।
प्रेस चौतारी नेपालले सञ्चालन र व्यवस्थापन गर्ने गरी डा शान्ति पाण्डे स्मृति राष्ट्रिय महिला पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।पूर्वमन्त्री तथा उद्योगपति हरिप्रसाद पाण्डे तथा श्रीमती तुलसा पाण्डेकी छोरी शान्तिको जन्मदिनको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा सो पुरस्कारको घोषणा गरिएको हो । पुरस्कारका लागि पाण्डे परिवारले स्थापना गरेको मातृसेवा प्रतिष्ठान नेपालले ५ लाखको अक्षयकोषको व्यवस्था गरेको छ ।
बर्षेनी प्रदान गरिने सो पुरस्कारको राशि ५० हजार १ सय ११ रहेको प्रेस चौतारी नेपाल महिला विभागका प्रमुख जमुना वर्षा शर्माले जानकारी दिइन् । पुरस्कार घोषणा कार्यक्रममा प्रतिष्ठान र प्रेस चौतारी नेपाल बीच सहमतिपत्रमा हस्तास्क्षरसमेत भएको छ ।
डा पाण्डेको २०६१ साल साउन ४ गते स्कुटर दुर्घटनामा निधन भएको थियो । उनकै स्मृतिमा समाज रुपान्तरणमा योगदान गर्ने पत्रकार महिलालाई सम्मान गर्न पत्रकारिता पुरस्कार स्थापना गरिएको हो । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकार महिलालाई सम्मान गर्न पुरस्कारको स्थापना गरेकोमा मातृसेवा प्रतिष्ठान प्रति आभार प्रकट गरे ।
उनले अक्षयकोषलाई दायाँ बायाँ हुन नदिने प्रतिवद्धता व्यक्त गरे । ‘नलेख्ने पत्रकार महिलालाई पुरस्कार दिएर प्रतिष्ठानको अपमान गरिने छैन,’ उनले भने, ‘लेख्ने पत्रकार महिला नभेटेको अवस्थामा पुरस्कारलाई चौतारीको सीमाभन्दा बाहिर जान सक्ने व्यवस्था गर्ने योजना छ ।’ आफ्नो कार्यकालमा पत्रकारिता क्षेत्रमा नयाँ काम गर्ने योजना अगाडि सारेको उल्लेख गर्दै उनले पुरस्कारले योजनालाई सफल बनाउन सहयोग पुगेको विश्वास व्यक्त गरे ।पूर्वमन्त्री पाण्डेले प्रतिष्ठानले आफ्नो जन्मभूमि, कर्मभूमि र सिंगो देशलाई कार्यक्षेत्र बनाएर शिक्षा, स्वास्थ्य र विचार निर्माणको क्षेत्रमा काम गरेको जानकारी दिए । धेरै पीडालाई बिर्सन सके पनि सन्तान गुमाउँदाको पीडा भुल्न नसकिने उनले उल्लेख गरे । उनले नेपाल पत्रकार महासंघ कास्कीमा समेत २५ हजार १ सय १ को पुरस्कार स्थापनाका लागि प्रक्रिया अगाडी बढाउन सुझाव दिए ।
उनले छोरी शान्ति पाण्डेको स्मृतिमा २ सयभन्दा बढी नर्सिङ शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गरेको बताए । उनले प्रतिष्ठानले देश भरीमा ८ सय ६९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकेको जनाए ।नेकपा (एमाले) जिल्ला कमिटी कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले पत्रकारितामा महिला सहभागिता बढाउन पुरस्कारले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले उद्यमशीलताको विकास विना देशको समृद्धि सम्भव नहुने नाराअघि सारेका पाण्डेको सामाजिक क्षेत्रको विकासमा योगदान रहेको बताए ।कार्यक्रममा नेकपा (एमाले) प्रचार विभागका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पूर्वमन्त्री पाण्डेको सामाजिक कामले परिवारलाई परेको पीडा बिर्सन सहयोग पुगेको उल्लेख गरे । ‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मुल मर्म’ भन्ने नाराका साथ भएको समारोहमा प्रेस स्वतन्त्रता सेनानी वद्रीविनोद प्रतीक, न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुली, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य कञ्चन थापा, गण्डकी प्रदेशका अध्यक्ष ईन्द्रप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, कास्कीका अध्यक्ष विमला भण्डारी, पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले पुरस्कारका बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया