साउन, काठमाडौं । चितवनको सिमलताल क्षेत्रमा त्रिशूली नदीमा खसेर वेपत्ता भएका दुई वटा बस र तिनमा सवार यात्रुहरुको खोजीका लागि भारतबाट आएको विपद उद्धार टोलीले आजदेखि खोजी सुरु गरेको छ ।
अत्याधुनिक सोनार क्यामरा लगायतका उपकरणसहित आएको १२ सदस्यीय भारतीय टोलीले आज बिहान करिब १० बजेदेखि खोजी सुरु गरेको हो ।नेपाल सरकारको आग्रहमा भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को टोली शनिबार चितवन आएको थियो । सो टोलीले शनिबार जिल्ला प्रशासन कार्यालय चितवन र कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयमा घटना विवरणबारे जानकारी लिएको थियो । सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयमा गएराति बसेको भारतीय टोली आज बिहानदेखि खोजी कार्यमा खटिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतीय टोली एक सातासम्म नेपालमा रहने छ ।
खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुणाल तिवारीले भारतमा पनि धमिलो र उच्च वहाबका नदीमा खोजतलास गरेको भन्दै यहाँ काम गर्न पनि समस्या नहुने बताए ।
यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस चितवनको सिमलतालमा बिहान करिब साढे ३ बजे खसेको पहिरोमा परेका थिए । ती दुवै बस पहिरोसँगै त्रिशूली नदीमा खसेर वेपत्ता भएका थिए ।
दुवै बसमा सवार ६५ जनामध्ये तीन जना पौडिएर सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । गत शनिबारसम्म २५ जनाको शव फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्रु र दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन ।
तपाईको प्रतिक्रिया