पोखरा /
नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान) ले पोखरामा बृहत शैक्षिक बहस कार्यक्रम गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै चैत ३० गते ‘इडीयू ३६०’ नाम दिएर पोखरा सिटी स्कवायर बेनक्यूट न्यूरोडमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी गराइएको हो
एक दिने कार्यक्रममा तीन सेसन हुने (इक्यान) कास्कीका उपाध्यक्ष एबम् संयोजक सन्तोष शाहीले बताए । उनका अनुसार पहिलो र दोस्रो सेसनमा प्यानल डिस्कसन हुनेछ भने तेस्रो सेसनमा मुख्य वक्ताका विचार सुनिनेछ । कार्यक्रममा मुख्य वक्ताको रुपमा महानायक राजेश हमाल आउने जानकारी उनले दिएका छन् ।
अन्य वक्तामा भने गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी,पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्वविद्यालयका विज्ञान तथा प्राविधि संकाय (जीपास्ट) का कार्यकारी निर्देशक डा.ढाकाराम भण्डारी, डीन प्रोफेसर डा. कपील अधिकारी र इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई रहनेछन् ।
ग्लोवल एजुकेशनका विषयमा शिषाविद, सरकारका प्रतिनिधि, राजनीतिज्ञ, परामर्श व्यवसायी, विद्यार्थी र यो क्षेत्रसँग सरोकार राख्ने सरोकारवालाहरु बीच स्वस्थ छलफल गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको (इक्यान) कास्कीका सचिव कमल बरालले बताए । कार्यक्रममा विश्व बजारमा शिक्षामा भएका परिवर्तन, त्यसको महत्व, नेपाली विद्यार्थी विदेशिनुको कारण, गुणस्तरीय शिक्षाका लागि आवश्यक नीतिनिर्माणका विषयमा छलफल हुने बरालले बताए ।
बहस कार्यक्रममा विदेशमा अध्ययन गरी नेपाल फर्केकाहरुको समेत अनुभव सुन्न पाइने (इक्यान) कास्कीका अध्यक्ष रमेशकुमार थापाले बताए । कार्यक्रममा विद्यार्थी, अभिभावकलाई समेत बोलाइएको छ । वैदेशिक अध्ययनको विषयलाई सकरात्मक तवरले बुझाउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले उल्लेख गरे ।
इक्यान कास्कीले यसअघि पनि विभिन्न शैक्षिक मेला गर्दै आएको छ । विद्यार्थीहरुको चाहनाअनुसार नै शैक्षिक मेलाको आयोजना हुने गरेको आयोजक संस्थाको भनाई छ । हाल इक्यान कास्कीमा मात्रै ४६ वटा शैक्षिक संस्था आबद्ध छन् ।
तपाईको प्रतिक्रिया