भैरहवाको एयररूट अब दुईतर्फी, भारतले दियो सहमति
- Pokhara Express
- २०८३ मंसिर ८ सोमबार
काठमाडौं
भारतले भैरहवाको एयर रूटलाई दुईतर्फी बनाउन सहमति जनाएको छ। हाल काठमाडौंबाट उडेका अन्तर्राष्ट्रिय विमानहरू भैरहवाबाट बाहिरिन पाउँथे। भारतीय आकाश हुँदै काठमाडौं भित्रिने जहाजहरू भने सिमराबाट मात्र भित्र पस्न पाउँथे। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतले भैरहवाको एयररूटलाई दुईतर्फी बनाउन सहमति जनाएको हो।
नेपाल र भारतले जारी गरेको संयुक्त वक्तव्यमा एयररूटको विषय समेटिएको हो।
‘प्रधानमन्त्रीहरूले हवाई सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नागरिक उड्डयन सम्बन्धी विषयमा भइरहेको छलफललाई ध्यानमा लिएका छन्,’ वक्तव्यमा भनिएको छ, ‘दुवै पक्ष विद्यमान एकतर्फी ‘बी३४५’ काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई दुई पक्षीय बनाउने विषयमा सहमत भएका छन्। यस सम्बन्धमा आवश्यक प्रक्रिया तथा कार्यविधिलाई अन्तिम रूप दिन र हाल छलफलमा रहेका दुवै पक्षका नागरिक उड्डयन सम्बन्धी अन्य प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।’
भैरहवाको एयररूट पाएसँगै अब नेपाललाई भैरहवास्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहजता हुनेछ।
भैरहवाको एयररुट हुँदै हाल कुवेत, साउदी अरेबिया, कतार र युएईका जहाज काठमाडौंबाट बाहिरिने गरेका छन्। यो रुटबाट नेपाल आउने जहाजका लागि अब दुरी र समय घट्नेछ। जसका कारण हवाई भाडा समेत केही घट्न सक्नेछ।
एयर रुटको विषयमा अन्तिम समयसम्म चलेको थियो छलफल
नेपाललाई एयर रुट दिने विषयमा नेपाल र भारतीय प्रतिनिधिमण्डलबीच अन्तिम समयसम्म छलफल भएको थियो।
भारतले प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको मिति तय भएपछि एकाएक बागडोगरा विमानस्थलका लागि नेपालसँग एयरस्पेस मागेको थियो। नेपाली पक्ष एयरस्पेस दिन तयार रहेको भए पनि प्राविधिक अध्ययन आवश्यक रहेको बताएको थियो। तर भारतीय पक्षले पनि नेपाल सहमत भएको भाषा प्रयोग गर्नुपर्ने अडान लिएको थियो।
नेपाली पक्ष एयरस्पेस भारतीय यात्रुवाहक र कार्गो विमानलाई मात्र प्रयोगका लागि दिन सहमत भएको थियो। तर भारतीय पक्षले सबै जहाजका लागि उक्त एयरस्पेस दिनुपर्ने बताएको थियो।
बागडोगरा विमानस्थल भारतीय वायुसेनाले सञ्चालन गर्छ। उक्त विमानस्थल भारतको संवेदनशील मानिने ‘चिकेन नेक’ क्षेत्रमा पर्छ। नेपाल, चीन, भारत र बंगलादेशको सीमा क्षेत्रको एयरस्पेस दिँदा कतिसम्म दिने भन्ने अध्ययन गरेर तय गर्ने नेपालले जनाएको छ।
भ्रमण टोलीमा सहभागी स्रोतका अनुसार अन्तिमसम्म पनि भैरहवा विमानस्थलमा सहमति जुटेको थिएन। तर तारन्तारको बैठक र छलफलपछि भारतीय पक्ष सहमतिमा आएको हो।
महेन्द्रनगर र जनकपुरको एयर रुटका विषयमा भने अझै सहमति जुटेको छैन।
तपाईको प्रतिक्रिया