प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन र मिडियामाथिको हस्तक्षेप रोक्न पत्रकार महासंघको धुलिखेल सम्मेलनले माग गर्यो
- Pokhara Express
- २०८३ मंसिर ८ सोमबार
काठमाडौँ ।
नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन र सञ्चारमाध्यममाथिको सरकारी हस्तक्षेप तत्काल बन्द गर्न माग गरेको छ ।काभ्रेको धुलिखेलमा मंसिर ५ र ६ गते आयोजित सरोकारवालाहरूसँगको सम्मेलन तथा बैठकबाट पारित १६ बुँदे प्रस्ताव–२०८३ सार्वजनिक गर्दै महासंघले यस्तो माग गरेको हो ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा सोमबार जारी विज्ञप्तिअनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, मानव अधिकार, विधिको शासन, सूचनाको संकुचन र प्रस्तावित सञ्चार कानुनका विषयमा गहन छलफल गरी प्रस्ताव पारित गरिएको छ ।सम्मेलनले संविधान र प्रचलित कानुनद्वारा प्राप्त मौलिक हकको प्रयोग संकुचित र नियन्त्रित हुँदै गएको भन्दै संविधानको अक्षरशः पालना गर्न सरकारसँग माग गरेको छ । प्रस्तावित प्रेस काउन्सिल अध्यादेश फिर्ता लिई सरोकारवालाहरूसँगको बृहत् छलफल र सहमतिका आधारमा विधायिकी प्रक्रियाबाट मिडिया काउन्सिल विधेयक तथा आमसञ्चार विधेयकलगायतका कानुन निर्माण गर्न महासंघले जोड दिएको छ ।यस्तै, प्रेस काउन्सिलमा नेपाल पत्रकार महासंघको प्रतिनिधित्व नहुने व्यवस्था गरिएमा काउन्सिलले जारी गरेको आचारसंहिता पालना गर्न महासंघ बाध्य नहुने र आफैँ आचारसंहिता जारी गरी अघि बढ्ने घोषणा गरिएको छ ।
विज्ञप्तिमा प्रेस काउन्सिल, पत्रकार तथा आमसञ्चारमाध्यममाथि भइरहेको गैरकानुनी सरकारी हस्तक्षेप र नियन्त्रण बन्द गर्न माग गरिएको छ । विश्वव्यापी मान्यताविपरीत पत्रकारलाई सूचनाको स्रोत खोल्न बाध्य पार्ने, प्रेस काउन्सिल र प्रहरी प्रशासनबाट केरकार तथा धम्की दिने कार्य तत्काल रोक्न सम्मेलनले आग्रह गरेको छ । सञ्चारमाध्यमको मुख्यद्वारमा सवारी अवरोध गर्ने र समाचार कक्षमै प्रहरी प्रवेश गरी स्रोत खोज्ने कार्यको घोर निन्दा गर्दै महासंघले उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ । समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने तथा मोबाइल, ल्यापटप र क्यामेरा नियन्त्रणमा लिई तथ्यांक मेटाउन बाध्य पार्ने सरकारी रवैया अन्त्य गर्न पनि भनिएको छ ।सरकारी स्वामित्वका गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समिति (रासस) बाट बिनाकारण एकैपटक ठूलो संख्यामा हटाइएका सबै पत्रकारलाई तत्काल पुनर्बहाली गर्न महासंघले माग गरेको छ । यसैगरी, पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापन कटौती नगर्न, प्रदेशस्तरमा दर्ता भएका सञ्चारमाध्यमलाई प्रदेश संरचनाबाटै दर्ता तथा नवीकरणको सहज व्यवस्था मिलाउन र निःशुल्क सूचना प्रवाह गरिरहेका एफएम रेडियोहरूमाथि लगाइएको दोहोरो–तेहोरो कर प्रणाली अन्त्य गर्न सम्मेलनले ध्यानाकर्षण गराएको छ ।
लामो समयदेखि नेतृत्वविहीन रहेको राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्त गरी सूचनाको हक कार्यान्वयनमा अवरोध नगर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । अदालतमाथिको राजनीतिक हस्तक्षेप अन्त्य गरी न्यायपालिकाको स्वतन्त्रता सुनिश्चित गर्न तथा बन्दी प्रत्यक्षीकरणलगायत मौलिक हकसम्बन्धी रिट निवेदन दर्ता गर्न अस्वीकार वा ढिलाइ गर्ने कार्य तत्काल रोक्न माग गरिएको छ ।
विभिन्न पेसाकर्मीहरूको भयमुक्त वातावरणमा पेसा सञ्चालन गर्न पाउने अधिकारको संरक्षण गर्न माग गर्दै महासंघले पारित सबै प्रस्तावहरूमा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) को समेत ऐक्यबद्धता रहेको जनाएको छ । सम्मेलनमा महासंघका पदाधिकारी, पूर्वअध्यक्षहरू, विभिन्न सञ्चारमाध्यमका सम्पादक, नेपाल बार एसोसिएसनका पदाधिकारी, कानुन व्यवसायी र प्रेससम्बद्ध संघ–संगठनका प्रतिनिधिहरूको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया