धरहरा निर्माण गर्ने रमण कन्स्ट्रक्सनलाई कुमारी बैंकको ३५ दिने सूचना, करिब ५० करोड असुल्नुपर्ने
- Pokhara Express
- २०८३ मंसिर ८ सोमबार
काठमाडौं। कुमारी बैंकले धरहरा पुनर्निर्माणको ठेक्का पाएको रमण कन्स्ट्रक्सन प्रालिलाई कर्जा चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकले सोमबार प्रकाशित सूचनामार्फत कम्पनी र त्यसका सम्बद्ध पक्षलाई तोकिएको अवधिभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्न आग्रह गरेको हो।
बैंकका अनुसार कम्पनीले लिएको ऋणको साँवा, ब्याजलगायत रकम समयमा बुझाएको छैन। बैंकले पटक–पटक मौखिक र लिखित रूपमा ताकेता गर्दा पनि कम्पनीले कर्जा चुक्ता गर्न चासो नदेखाएपछि सार्वजनिक सूचना निकाल्नुपरेको बैंकले जनाएको छ।
बैंक स्रोतका अनुसार कुमारी बैंकले कम्पनीबाट करिब ५० करोड रुपैयाँ असुल्नुपर्ने छ। यस रकममा काठमाडौंको सुन्धारास्थित धरहरा निर्माण परियोजनाका लागि लिइएको कर्जा र सुनकोशी–मरिन डाइभर्सन आयोजनाका लागि ग्लोबल आईएमई बैंकको नेतृत्वमा जारी गरिएको बैंक ग्यारेन्टी दुवै समावेश छन्।तोकिएको समयमा काम नगरेको भन्दै सरकारले गत वर्ष सुनकोशी–मरिन डाइभर्सन आयोजनाको ठेक्का तोडेको थियो। उक्त आयोजनाका लागि पाँच बैंकले संयुक्त रूपमा ३ अर्ब ६० करोड रुपैयाँको बैंक ग्यारेन्टी दिएका थिए। ठेक्का तोडिएसँगै सरकारले उक्त जमानत जफत गरेको थियो। त्यसपछि बैंकले सो जमानत रकमलाई फोर्स लोनका रूपमा कम्पनीको नाममा बुक गरेको थियो। सो रकम पनि असुल हुन नसकेपछि बैंकले ३५ दिने सूचना प्रकाशित गरेको हो।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको शाखा कार्यालयमा सम्पर्क गरी सम्पूर्ण बक्यौता नबुझाए प्रचलित ऐन–कानुन, नेपाल राष्ट्र बैंकको निर्देशन र बैंकको कर्जा असुली कार्यविधिअनुसार धितोमा रहेको चल–अचल सम्पत्ति लिलाम गरी वा अन्य व्यवस्था मिलाई कर्जा असुल गरिने बैंकले जनाएको छ। तोकिएको समयमा ऋण नतिरे ऋणी र सम्बन्धित पक्षको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न लेखी पठाइने पनि सूचनामा उल्लेख छ।
धितोमा रहेको सम्पत्तिबाट पनि बैंकको पूरा लेना रकम असुल नभए बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र प्रचलित कानुनबमोजिम ऋणी, सञ्चालक र जमानीकर्ताको अन्य चल–अचल सम्पत्तिबाट समेत बाँकी रकम असुल गरिने चेतावनी बैंकले दिएको छ।
जनकपुर नगरपालिका–९, धनुषामा रजिस्टर्ड कार्यालय रहेको रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो हुन्। कर्जामा पवन महतो, रमण महतो र बलराम महतो व्यक्तिगत जमानीकर्ता बसेका छन्। उनीहरूको स्थायी ठेगाना धनुषाको रघुनाथपुर गाविस–४ हो भने हाल उनीहरू काठमाडौं महानगरपालिका–७ मा बस्दै आएका छन्।
कर्जाको सुरक्षणका लागि बैंकमा दुई कित्ता जग्गा धितो राखिएको छ। तीमध्ये बलराम महतोको नाममा मालपोत कार्यालय सिराहामा दर्ता रहेको सिराहाको नैनपुर गाविस–२ स्थित कित्ता नं. ६८८ को १०२०.१२ वर्गमिटर जग्गा हो। अर्को, कम्पनीकै नाममा मालपोत कार्यालय भक्तपुरमा दर्ता रहेको कटुन्जे गाविस–२ स्थित कित्ता नं. ४९५ को ७ आना जग्गा हो। दुवै जग्गासँगै त्यसमा रहेका सबै संरचना पनि धितोमा छन्। यसका साथै ऋणी कम्पनीको सम्पूर्ण चल–अचल सम्पत्ति र अन्य असामीहरूसँग पाउनुपर्ने रकममाथि हाइपोथिकेसन तमसुक पनि बैंकमा राखिएको छ। नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयमा कुमारी बैंक र रमण कन्स्ट्रक्सनको संयुक्त स्वामित्वमा दर्ता रहेका ना १ क ४८०७, ना १ क ४८०८ र ना १ क ४८०९ नम्बरका तीन वटा कोबेल्को एस्काभेटर पनि धितो सुरक्षणमा छन्।
तपाईको प्रतिक्रिया