पाँचथरको चाररातेमा पर्यटकको घुइँचो, दैनिक ५०० जनासम्म पुग्न थाले
- Pokhara Express
- २०८३ मंसिर ७ आइतबार
पोखरा एक्सप्रेस ,पाँचथर ।
पूर्वाधार विकास र सडक सञ्जाल सहज बनेसँगै पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ ।
नेपाल र भारतको सीमावर्ती क्षेत्रमा पर्ने चाररातेमा दैनिक ३०० देखि ५०० जनासम्म आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष शिल्प साम्पाङ राईले जानकारी दिए ।उनका अनुसार चाररातेबाट हिमशृङ्खलाको दृश्यावलोकन, चौँरी तथा भेँडीगोठमा रमाउने अवसर र उच्च पहाडी क्षेत्रको अनुभव लिन सकिन्छ । मनोरम प्राकृतिक वातावरणमा रमाउन पाइने भएकाले यहाँ पर्यटकको आकर्षण बढेको हो ।चाररातेमा पर्यटक पुग्नुको अर्को कारण सूर्योदय र सूर्यास्तसँगै हिमशृङ्खलाको आकर्षक दृश्यावलोकन पनि हो । “पूर्वमा धेरै ठाउँबाट सूर्योदय राम्रोसँग देख्न सकिन्छ”, पर्यटन व्यवसायीसमेत रहेका राईले भने, “तर यहाँबाट सूर्योदयसँगै सूर्यास्त पनि स्पष्टसँग देख्न सकिने भएकाले पर्यटक आकर्षित भइरहेका छन् ।”
उनका अनुसार नेपाल, सिक्किम (भारत) र भुटानका हिमालको दृश्यावलोकनका लागि समेत चारराते उपयुक्त मानिन्छ ।
नयाँ वर्षका दिन आयोजना हुने चौँरी महोत्सव, यहाँ छायाङ्कन भएको ‘उनको स्वीटर’ चलचित्र तथा समाचार सामग्री र युट्युब, टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत भएको प्रचारले पनि पर्यटक आकर्षित गरिरहेको घरबास सञ्चालक डिल्लीहाङ केरुङले बताए ।चाररातेसहित यहाँ रहेको नेपालको झण्डा आकारको झण्डा पोखरी, जलजले पोखरी र भैँसे पोखरी पनि पर्यटकका आकर्षण बनेका छन् ।समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा रहेको चाररातेमा पाँचथरको फिदिमबाट प्राङबुङ हुँदै पुग्न सकिन्छ । इलामको सन्दकपुरबाट पनि यहाँ पुग्न सकिन्छ । नेपालतर्फबाट यस वर्ष पर्यटकको आगमन उल्लेख्य बढेपछि स्थानीयवासी आर्थिक गतिविधि चलायमान हुने अपेक्षासहित उत्साहित भएका छन् ।
घरबास सञ्चालक केरुङका अनुसार यहाँबाट कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल स्पष्ट देख्न सकिन्छ । “ती दृश्य मोबाइल र क्यामेरामा नजिकैजस्तो गरी खिच्न सकिने हुँदा धेरै पर्यटक आकर्षित भइरहेका छन् । यस पटक बडादसैँ र तिहारको बिदा लामो भएकाले पनि फुर्सदको समयमा धेरै पर्यटक यहाँ पुगेका हुन्”, उनले भने ।
सडक पूर्वाधार सहज बन्दै गएपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनबाटै यहाँ पुग्न सकिने भएको छ । केरुङका अनुसार कात्तिक र मङ्सिर यस क्षेत्रको भ्रमणका लागि उपयुक्त समय हो ।
विगत केही वर्षदेखि भारतका विभिन्न क्षेत्रका पर्यटकसमेत नेपालको बाटो हुँदै यहाँ पुग्न थालेपछि पर्यटनमा आधारित अर्थतन्त्र फस्टाउने र स्वरोजगारका अवसर सिर्जना हुने आशा पलाएको स्थानीय बताउँछन् ।
“अहिले भारतको बाटो हुँदै धेरै पर्यटक आइरहेका छन् । तीमध्ये आधालाई मात्रै नेपालतर्फबाट लैजान सकियो भने जिल्ला सदरमुकामसहितका बजारमा पनि पर्यटनमा आधारित अर्थतन्त्र फस्टाउन सक्छ”, पर्यटन व्यवसायी राईले भने, “यसका लागि थप पूर्वाधार विकासमा जोड दिनुपर्छ ।”
पर्यटकको सङ्ख्या बढे पनि व्यवस्थापनमा भने कठिनाइ भइरहेको घरबास सञ्चालकको भनाइ छ । सीमित घरबास र गोठबासमा पर्यटकलाई राख्नुपर्ने, खानेपानी र विद्युत् नियमित नहुने तथा वर्षा हुनासाथ सडक जोखिमपूर्ण हुने समस्याले उचित व्यवस्थापनमा कठिनाइ भइरहेको केरुङले बताए ।
“अहिले आएका पर्यटकलाई राम्रो सुविधा दिन नसक्दा गलत सन्देश जाने जोखिम पनि उत्तिकै छ”, संस्थाका अध्यक्ष राईले भने, “यस क्षेत्रमा दीर्घकालीन रूपमा कसरी पर्यटक भित्र्याउने, स्वरोजगारका अवसर सिर्जना गर्ने र पर्यटन प्रवर्द्धनका योजना बनाउने भन्ने हाम्रो चिन्ता हो ।”
सवारीसाधनको चाप बढ्नुका साथै फोहरमैला व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।
हालै यस क्षेत्रमा ‘कलेजी उनको स्वीटर–२’ नामको नयाँ चलचित्रको छायाङ्कन भएको थियो । छायाङ्कनका लागि विपीन कार्की, मिरुना मगरलगायत कलाकार यहाँ पुगेपछि पर्यटकको आकर्षण थप बढेको छ । यहाँ फुलेका बुकीलगायत फूल र ठूला तथा फराकिला पाटनमा पर्यटक रमाइरहेका देखिन्छन् ।-रासस
तपाईको प्रतिक्रिया