काठमाडौं। नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालनको २८ वर्ष पूरा गरेको छ। मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले २८ वर्षको सफल सञ्चालन पूरा गर्दै २९औँ वर्षमा प्रवेश गरेको हो।
चितवन को-ई समूहअन्तर्गत सञ्चालित मनकामना केबलकार सन् १९९८ मा स्थापना भएको थियो। स्थापना भएदेखि हालसम्म केबलकारले २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेको कम्पनीले जनाएको छ।
कम्पनीले ७ मंसिर २०८३ मा जारी गरेको प्रेस विज्ञप्तिअनुसार केबलकारका संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको यस परियोजनाले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा अग्रणी उद्यमका रूपमा आफूलाई स्थापित गरेको छ।यस अवसरमा कम्पनीले संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले देखाएको मार्गनिर्देशन र दूरदृष्टिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
कम्पनीले यात्रुहरूको विश्वास र सहयोग, कर्मचारीहरूको निष्ठा तथा समर्पण र पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदारहरूको सहकार्यलाई आफ्नो सफलताको आधारका रुपमा लिएको छ।
त्यस्तै, सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा शुभेच्छुकप्रति कम्पनीले आभार व्यक्त गरेको छ। कम्पनीले आगामी वर्षहरूमा पनि यात्रुलाई अझ उत्कृष्ट सेवा तथा स्तरीय अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
तपाईको प्रतिक्रिया