पोखरा एक्सप्रेस ,पोखरा।
गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक राजस्व संकलनतर्फ निर्धारित लक्ष्यको ७२ दशमलव ८७ प्रतिशत मात्रै प्रगति हासिल गरेको छ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाका अनुसार गत आर्थिक वर्षमा चार अर्ब १७ करोड ८८ लाख ११ हजार राजस्व संकलन गरेको छ। प्रदेश सरकारले पाँच अर्ब ७३ करोड ४३ लाख ८८ हजार आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो।सबभन्दा बढी सवारीसाधन करतर्फ एक अर्ब २० करोड ६९ लाख १६ हजार अर्थात् लक्ष्यको ८७ दशमलव ४६ प्रतिशत राजस्व सङ्कलन भएको छ। यस शीर्षकमा एक अर्ब ३८ करोडको लक्ष्य राखिएको थियो। यस्तै, घरजग्गा रजिस्ट्रेसनबाट ९१ करोड ३७ लाख ३४ हजार राजस्व संकलन भएको छ।
यस्तै, विज्ञापन कर सङ्कलन उत्साहजनक देखिएको छ । रु २२ लाख ७८ हजार लक्ष्य राखिएको यस शीर्षकमा ३२ लाख दुई हजार सङ्कलन भएको छ। कृषि आयमा लाग्ने करमा भने लक्ष्यको २१ दशमलव ४८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ।
२० लाख लक्ष्य राखिएकामा चार लाख ९५ हजार मात्रै सङ्कलन भएको छ। पर्यटन तथा पदयात्रा शुल्कबाट १४ लाख ६९ हजार अर्थात् लक्ष्यको २४ दशमलव ६९ प्रतिशत मात्रै प्राप्त भएको छ।
ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थको बिक्रीबाट १९ करोड ७२ लाख ३४ हजार, मनोरञ्जन करतर्फ ३४ लाख ४५ हजार र यातायात क्षेत्रको अन्य आम्दानीबाट ५५ करोड ४० लाख ५३ हजार राजस्व सङ्कलन भएको छ।
केही क्षेत्रको राजस्व सङ्कलन कमजोर रहे पनि प्रमुख शीर्षकमा भएको उल्लेख्य वृद्धिका कारण प्रदेशको समग्र आन्तरिक राजस्व सङ्कलन सन्तोषजनक रहेको उपाध्यक्ष डा देवकोटाले जानकारी दिए।–रासस
तपाईको प्रतिक्रिया