पोखरा एक्सप्रेस ,पोखरा
। बिहीबार रातीदेखि अविरल परेको वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकाका केही क्षेत्रहरू क्षतविक्षत भएका छन् । खासगरी वडा नम्बर ८ को बीरेठाँटी क्षेत्रमा बाढीले बढी नै असर गरेको छ । वीरेठाँटीबाट घान्द्रुक जाने सडक ठाउँठाउँमा मोदी खोलाले बगाएको छ । जसका कारण यातायात ठप्प भएको कास्की प्रहरीले जनाएको छ । प्रहरी चौकी वीरेठाँटीका अनुसार अविरल वर्षाका कारण मोदी खोलामा आएको बाढीले सडक कटान गर्दा भौतिक संरचनामा ठुलो क्षति पुगेको छ । वीरेठाँटी नजिकैको सडकको करिब १०० मिटर बाटो मोदी खोलाले बगाएको छ । बाटो पूर्ण रूपमा बन्द हुनुका साथै पैदल हिँड्ने बाटो समेत बाँकी नरहेको प्रहरीले जनाएको छ ।
नजिकै रहेको विजय गुरुङको घर पहिरो र नदी कटानका कारण उच्च जोखिममा परेको छ । चिम्रुङस्थित मोदी प्राथमिक विद्यालयभन्दा तलको करिब १५० मिटर सडकखण्ड चर्किएर खसेको छ । चिम्रुङदेखि स्याउली बजार जाने सडकको करिब १५० मिटर भाग मोदी खोलामा खसेर पूर्ण रूपमा क्षति भएको प्रहरी नायव निरीक्षक डिलबहादुर भण्डारीले जानकारी दिए । स्याउली बजारबाट साँदी खोला जाने सडकको करिब २५० मिटर भाग पनि मोदी खोलामा खसेको छ । जसका कारण मानिसहरू हिँड्ने पैदल बाटो समेत अवरुद्ध भएको छ । पहिरोका कारण अन्नपूर्ण गाउँपालिका ८ चिम्रुङ बस्ने माया पाइजाको घर पूर्ण जोखिममा परेको छ । उनको ४ जनाको परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ को हाइजुङस्थित मोदी खोलाको बाढीले स्थानीय माता अन्नपूर्ण मन्दिर र एउटा झोलुङ्गे पुल बगाएको छ । बाढीमा फसेका मन्दिरका पुजारी निर्वाण गिरी, प्रदीप ढकाल, वीरेठाँटी माध्यमिक विद्यालयका शिक्षक रेवन्त सिंह र स्थानीय वीरमान घर्तीको उद्धार भैसकेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया