पोखरा एक्सप्रेस ,काठमाडौं।
पूर्व पश्चिम राजमार्ग रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्यांकर पल्टिएको छ। सडकमा मृग बचाउन खोज्दा दुर्घटनामा परेको उक्त ट्यांकरमा आगलागी हुँदा जलेर नष्ट भएको छ।आज बिहान करिब ५ः३० मा बाराको अमलेखगञ्जबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्यांकर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई पल्टिएको हो।
दुर्घटनापछि ट्यांकरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले बताएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी सत्यनारायण थापाको कमाण्डमा १० जना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट इन्स्पेक्टर राजेन्द्र थापा मगरको कमाण्डमा ५ जना गरी १५ सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो।चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट ट्यांकर पूर्ण रूपमा क्षति भए पनि कुनै मानवीय क्षति भएको छैन। ट्यांकर चालक सिमराका समिर गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया