डिजिटल बन्दै विद्युत् प्राधिकरण, डीएमएस र सफ्टवेयरमा आधारित बिलिङ सिस्टम सुरु
- Pokhara Express
- २०८३ श्रावाण २० बुधबार
पोखरा एक्सप्रेस ,काठमाडौं।
नेपाल विद्युत प्राधिकरणले आफ्नो डिजिटल अवधारणालाई थप सुदृढ बनाउँदै विद्युत व्यापार विभागमार्फत निर्मित ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डीएमएस)’ तथा ‘सफ्टवेयर बेस्ड बिलिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले दुवै प्रणालीको औपचारिक शुभारम्भ गरे।कार्यक्रम सुरुआत गर्दै निर्देशक थर्कबहादुर थापाले प्रविधिको प्रयोगसँगै विभाग थप पारदर्शी र स्वतन्त्र ऊर्जा प्रवर्द्धकमैत्री बन्दै गएको र यसले आगामी दिनका विद्युत् खरिद सम्झौता (पीपीए) तथा निर्माण व्यवस्थापनसम्बन्धी कार्यलाई थप सहज बनाउने बताए।
कार्यकारी निर्देशक श्रेष्ठले डिजिटल प्राधिकरण निर्माणको लक्ष्यमा विभागको यो पहलको प्रशंसा गर्दै यी प्रणालीलाई यथाशीघ्र निरन्तर कार्यान्वयनमा ल्याउन र समयसापेक्ष परिष्कृत गर्दै लैजान निर्देशन दिए।नयाँ सञ्चालनमा आएको डकुमेन्ट म्यानेजमेन्ट सिस्टममार्फत अब निर्माणाधीन आयोजनाले आफ्ना चौमासिक प्रगति विवरण, सञ्चालित आयोजनाले वार्षिक प्रतिवेदन, समन्वय समितिका माइन्युट र बिमा विवरण अनलाइनबाटै बुझाउन सक्नेछन्। साथै, आईपीपीएसले विभागसँग गर्ने पत्र आदानप्रदान डीएमएसबाटै गर्न सक्नेछन् भने सम्पूर्ण पीपीए र आयोजनाका जानकारी एउटै एकीकृत प्लेटफर्ममा उपलब्ध हुनेछन्।
अर्कोतर्फ सफ्टवेयर बेस्ड बिलिङ सिस्टममार्फत सञ्चालनमा रहेका आयोजनाहरूले एभायलाबिलिटी डिक्लेरेसन तथा रिभाइज्ड एभायलाबिलिटी डिक्लेरेसन पेस गरी अनलाइनबाटै स्वीकृति लिन सक्ने, संयुक्त मिटर रिडिङ पेस गर्न सक्ने र मासिक विद्युत् बिल अनलाइनबाटै प्रक्रियामा लैजान सक्नेछन्।यो सेवा हाल केही आयोजनाबाट सुरु गरी क्रमैसँग विस्तार गरिने प्राधिकरणले बताएको छ। यस नयाँ डिजिटल प्रणालीको सुरुआतसँगै निजी क्षेत्रका ऊर्जा प्रवर्द्धक र प्राधिकरणबीचको प्रशासनिक तथा व्यावसायिक कार्यसम्पादन थप छरितो, पारदर्शी र प्रविधिमैत्री हुने अपेक्षा गरिएको छ।कार्यक्रममा व्यवसाय विकास निर्देशनालयका उपकार्यकारी निर्देशक चन्दा न्यौपाने, विद्युत व्यापार विभागका निर्देशक थर्क बहादुर थापा तथा विभागका कर्मचारीको उपस्थिति रहेको थियो भने प्रणालीको प्राविधिक प्रस्तुतीकरण ई. सञ्जीव भट्टराईले गरेका थिए।
तपाईको प्रतिक्रिया