कञ्चनपुर। सुदूरपश्चिमको अन्न भण्डार मानिने कञ्चनपुरमा यस वर्ष धान उत्पादकत्व वृद्धि भएको छ। जिल्लाको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउँदले कञ्चनपुरमा यस वर्ष १ दशमलव १९ प्रतिशतले धानको उत्पादकत्वमा वृद्धि भएको बताए।
‘यस वर्ष मौसम अनुकूल हु्नु,उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको हो,’ उनले भने, ‘यस वर्ष दुई लाख छ हजार १०८ मेट्रिकटन धान उत्पादन भएको छ।’
गत वर्ष धानको उत्पादकत्व ० दशमलव २ ले बढेको थियो। गत वर्ष धानको उत्पादकत्व ४ दशमलव २ प्रति हेक्टर रहेकोमा यस वर्ष उत्पादकत्व वृद्धि भएर ४ दशमलव २५ पुगेको उनले बताए।
गत वर्ष दुई लाख तीन हजार ६८३ मेट्रिकटन धान उत्पादन भएको थियो। त्यसअघि कञ्चनपुरमा धानको उत्पादन एक लाख ९३ हजार ९८४ मेट्रिकटन रहेको थियो। कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ।
कृषि ज्ञान केन्द्रले हरेक वर्ष सिँचाइ सुविधा विस्तार गर्दै गएकाले पनि उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्रको भनाइ छ। ‘यहाँ हरेक वर्ष किसानका लागि उन्नत जाँतको बीउ अनुदानमा उपलब्ध हुँदै आएको छ,’ उनले भने, ‘सिञ्चित क्षेत्र पनि हरेक वर्ष विस्तार हुँदै गएको छ।’
ज्ञान केन्द्रबाट किसानका लागि हरेक वर्ष साना सिचाँइ (ट्युबेल) जडान गरी सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ। ‘बितेको वर्ष किसानलाई ७५० वटा बोरिङ उपलब्ध गराएको मा यस वर्ष ४९५ बोरिङ सिँचाइका लागि उपलब्ध छ,’ साउदले भने, ‘जसका कारण यहाँ धान उत्पादनमा वृद्धि हुँदै गएको छ।’
उनले आधुनिक कृषियन्त्रका कारण पनि उत्पादनमा वृद्धि भएको बताए। ज्ञान केन्द्रले किसानलाई ५० प्रतिशत अनुदानमा बीउबिजन र साना सिँचाइ (ट्युबेल) उपलब्ध गराउँदै आएको छ।
जिल्लामा ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा उपलब्ध हँुदै आएको छ। कञ्चनपुरमा हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ।
तपाईको प्रतिक्रिया