नेस्ट पोखराको कार्यक्रमले अव्यवस्थित बसोबासीलाई सिप र बालबालिकालाई पढ्ने वातावरण
- Pokhara Express
- २०८३ मंसिर ६ शनिवार
पोखरा एक्सप्रेस ,पोखरा ।
नेस्ट पोखराको कार्यक्रमले पोखरा महानगरपालिका वडा नम्बर १५ मा रहेका अव्यवस्थित बसोबासी एवं न्युन आय भएका बासिन्दालाई सीप विकासका माध्यमबाट आयआर्जनमा सहयोग र उनीहरुका बालबालिकालाई शिक्षा लिन सहज बनाएको छ ।
पोखरा १५ अमिनतरा बस्ने विष्णु परियारले नेस्ट पोखराले दिएको सिलाइकटाइ तालिम र आत्मनिर्भर बन्न उपलब्ध गराएको सिलाई मेसिनले आत्मनिर्भर बन्न सहयोग पुगेको बताइन् । सिप सिकेर गरेको कामका कारण आफ्ना बाबुनानीलाई विद्यालय पठाउन र पढाउन सहज भएको उनको भनाई छ ।
पोखरा १५ मा मात्रै उनी जस्तै करिव ३ सय भन्दा धेरै बासिन्दालाई नेस्ट पोखराको कार्यक्रमले सहयोग पुर्याएको पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तोरण बानियाँ बताउँछन् । पोखरा–१५ फलेपाटनस्थित सिद्ध माध्यमिक विद्यालयमा सामग्री तथा प्रमाणपत्र वितरण कार्यक्रममा शनिबार बोल्दै उनले सहयोग गर्ने संस्था प्रति अभार समेत प्रकट गरे ।
वडाध्यक्ष बानियाँले दातृ निकायको सहयोगलाई उत्पादन र आम्दानीसँग जोड्नुपर्नेमा जोड दिँदै त्यसबाट प्राप्त आम्दानी बालबालिकाको शिक्षामा खर्च गर्न अभिभावकलाई आग्रह गरे । आगामी दिनमा पनि नेस्ट पोखरासँग सहकार्य गरेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
परियोजनाअन्तर्गत अभिभावकलाई विभिन्न सीपमूलक तालिम प्रदान गर्नुका साथै विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोसाक सहयोग गरिएको छ । शनिबारको कार्यक्रममा ९३ जना विद्यार्थीलाई प्रतिविद्यार्थी ६ हजार रुपैयाँ भन्दा धेरै मूल्य पर्ने शैक्षिक सामग्री तथा पोसाक वितरण गरिएको छ । त्यस्तै, विद्यालयलाई कक्षा सञ्चालनका लागि आवश्यक एक लाख ५० हजार रुपैयाँ बराबरका सामग्री सहयोग गरिएको नेस्ट पोखराका प्रमुख कार्यकारी अधिकृत हरि लुइँटेलले जानकारी दिए ।
परियोजनाअन्तर्गत अभिभावकका लागि मौरीपालन, ढकिया बनाउने, साबुन, झोल साबुन तथा फिनेल र हार्पिक बनाउने, क्रिस्टलका गहना तयार गर्ने र सिलाइबुनाइलगायतका सीपमूलक तालिम सञ्चालन गरिएको थियो । वडा नम्बर १५ मा १० वटा सिलाइ मेसिन तथा १५ वटा मौरीका घारसमेत वितरण गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले बाढीपहिरो र चाडपर्वका कारण दुई महिनाअघि नै गर्ने भनिएको कार्यक्रम केही ढिलो गरी सम्पन्न भएको बताए । विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोसाक सहयोग र अभिभावकलाई सीप विकास तालिम प्रदान गरेकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गर्दै उनले आफू प्रधानाध्यापक भएपछि विद्यालयमा विद्यार्थी पोसाक तथा शैक्षिक सामग्री वितरणका कार्यक्रममा अधिकांश विद्यार्थी सहभागी हुँदै आएको जानकारी दिए ।
नेस्ट पोखराका सचिव कुम गुरुङले अभिभावकलाई सीप सिकाएर आम्दानीको अवसर सिर्जना गर्नु र त्यसबाट बालबालिकाको शिक्षामा सहयोग पु¥याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । बालबालिकाको सिकाइ र शिक्षामा आर्थिक अभाव बाधक बन्न नदिन परियोजना सञ्चालन गरिएको उनको भनाइ थियो ।
त्यस्तै, नेस्टका कार्यसमिति सदस्य महेन्द्र लामिछानेले जर्मन दूतावासको सहयोगमा वडामा विभिन्न सीप विकास तथा जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरिएको बताए । अभिभावकलाई आयआर्जनमा जोड्दै बालबालिकाको भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम अघि बढाइएको उनले उल्लेख गरे । घरलाई नै बालबालिकाको पहिलो विद्यालयका रूपमा विकास गर्दै अभिभावकले बालमैत्री र पठनमैत्री वातावरण निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए ।
कार्यक्रमको अध्यक्षता गरेकी नेस्टकी उपाध्यक्ष कमला श्रेष्ठले बालबालिकाको शिक्षामा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको बताइन् । वितरण गरिएका सिलाइ मेसिनको सदुपयोग गर्दै महिलाहरू आयआर्जनमा जोडिएको देख्न चाहेको उल्लेख गर्दै उनले मौरीका घार वितरणको प्रभावसमेत सकारात्मक रहेको बताइन् । आगामी दिनमा राज्य तथा विभिन्न दातृ निकायसँग सहकार्य गरेर थप कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ थियो ।
नेस्टका प्रमुख कार्यकारी अधिकृत हरि लुइँटेलले परियोजनाले बालबालिकाको शिक्षाको निरन्तरता र अभिभावकको आर्थिक आत्मनिर्भरतामा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । अभिभावकलाई सीप सिकाएर आयआर्जनमा जोड्ने र विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री तथा पोसाक उपलब्ध गराएर उनीहरूको पढाइलाई निरन्तरता दिन सहयोग गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
तालिमबाट प्राप्त सीपलाई व्यावसायिक गतिविधिमा जोड्ने प्रयाससमेत थालिएको छ । वडामा रुपान्तरण महिला समूह गठन गरी समूहका महिलाले फिनेल, हार्पिक तथा साबुन उत्पादन गरेर बिक्री वितरणसमेत सुरु गरेका छन् । कार्यक्रममा विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको समेत सहभागिता थियो ।
तपाईको प्रतिक्रिया