राजमार्गमा यात्रुलाई बासी खाना खुवाए होटल सञ्चालकसँगै बस ड्राइभरलाई पनि कारबाही
- Pokhara Express
- २०८३ असोज २८ बुधबार
पोखरा एक्सप्रेस ,काठमाडौं।
सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा सवारी चालक र होटल सञ्चालकलाई कारबाही गर्ने भएको छ।यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले आज एक सूचना जारी गरी चाडपर्वको समयमा यात्राका लागि निस्केका यात्रुलाई गुणस्तरहीन खाना खुवाएर बिरामी भएमा सवारी चालक र होटल÷रेष्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख गरेका छन्।
विभागले सार्वजनिक यातायातका यात्रुलाई खाना, नास्ता तथा खाजा खुवाउने होटल तथा रेस्टुरेन्टमा सरसफाइ हुनुपर्ने र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ।
सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुका लागि खाना, नास्ता र खाजा खान रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका र न्यून गुणस्तरका खाद्यवस्तु उपलब्ध गराउने गरेको भन्दै व्यापक जनगुनासो आएपछि विभागले यस्तो निर्देशन जारी गरेको हो।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकले गरेको निर्णयअनुसार विभागले सार्वजनिक यातायातका चालक, होटल तथा रेस्टुरेन्ट व्यवसायी र यात्रुलाई लक्षित गर्दै उक्त सूचना जारी गरेको हो।
विभागका अनुसार सार्वजनिक यातायातका चालकले सफा, स्वच्छ र गुणस्तरीय खाना पाइने स्थानका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिनुपर्नेछ। सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टमा मात्रै यात्रुलाई खाना, नास्ता तथा खाजाका लागि रोक्नुपर्ने निर्देशनमा उल्लेख छ।त्यस्तै, होटल तथा रेस्टुरेन्टले उपलब्ध गराउने खाना तथा खाजाको गुणस्तर न्यून भएका कारण यात्रु बिरामी परेको गुनासो आए सम्बन्धित निकायले सूक्ष्म निगरानी गर्ने विभागले जनाएको छ।
होटल तथा रेस्टुरेन्टमा खाना, नास्ता र खाजाको स्वच्छता तथा गुणस्तरमा कमी कमजोरी भएमा वा मूल्यमा ठगी भए यात्रुलाई तत्काल गुनासो गर्न विभागले आग्रह गरेको छ।त्यस्ता समस्या देखिए नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गरी जानकारी गराउन सकिनेछ। यस्तै, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा त्यसअन्तर्गतका नजिकका कार्यालयमा सम्पर्क गरेर उजुरी दिन सकिने विभागले जनाएको छ।
तपाईको प्रतिक्रिया