काठमाडौँ। नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले तातोपानी सीमा नाका तत्काल खुल्ला गर्न आग्रह गरेको छ । सङ्घले मंगलबार नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङलाई पत्र लेख्दै सो आग्रह गरेको हो ।दसैँ, तिहारजस्ता चाडपर्वमा तातोपानी सीमा नाका बन्द हुँदा व्यापारीहरू मारमा परेको उल्लेख गर्दै सङ्घका अध्यक्ष रामहरि कार्कीले राजदूत झाङलाई एक पत्र लेख्दै नाका सहज बनाउन विशेष पहल गरिदिन अनुरोध गरेका हुन्।
खराब मौसम र पहिरोका कारण अन्य स्थलपार्क मार्गहरू अवरुद्ध भएको अवस्थामा तातोपानी नाका नै दुई देशकाे व्यापारका लागि सबैभन्दा सहज र व्यावहारिक विकल्प रहेको उल्लेख गर्दै उनले चाडपर्वका लागि लक्षित गरिएका सयौँ कन्टेनरहरू सीमा क्षेत्रमा अलपत्र परेको भनि ध्यानाकर्षण गराएका छन्।ती कन्टेनरमध्ये धेरैजसोमा छिटो बिग्रिने उपभोग्य वस्तु, कृषिजन्य सामग्री तथा मौसमी सामानहरू रहेको उल्लेख गर्दै उनले नाका बन्द भइरहँदा सामान कुहिएर साना व्यापारीहरू ठुलो आर्थिक मारमा पर्ने दाबी गरेका छन्।
समयमा कन्टेनर नआएन नेपाली बजारमा सर्वसाधारणका लागि अत्यावश्यक वस्तुको अभाव सिर्जना हुने पनि उनले जानकारी गराएका छन्। नेपालतर्फको सडक सफा गरी भन्सार जाँचपास तथा सवारी साधन आवतजावतका लागि पूर्ण रूपमा सञ्चालन योग्य बनाइ सकिएको सङ्घले जनाएको छ।
नेपाल र चीन बिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध र सहकार्यको भावनालाई ध्यानमा राख्दै चिनियाँ भन्सार अधिकारीहरू तथा तिब्बत स्वायत्त क्षेत्रका सम्बन्धित निकायहरूसँग समन्वय गरी रोकिएका सवारी साधन र सामानहरू प्राथमिकताका साथ भित्र्याउन राजदूत झाङसँग संघकाे माग छ।
तपाईको प्रतिक्रिया