पोखरा एक्सप्रेस ,मुस्ताङ ।
पछिल्दाे २४ घण्टामा मुस्ताङकाे लोमान्थाङमा ७ पटक भूकम्पको धक्का महसुस भएको छ । मुस्ताङको उत्तरी गाउँपालिका लोमान्थाङका स्थानीयहरू पटक पटक भूकम्प आएपछि त्रसित भएका छन् ।निरन्तर गएको भूकम्पका कारण ऐतिहासिक तथा पर्यटकीय क्षेत्र लोमान्थाङमा ठुलो क्षति पुगेको गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङले जानकारी दिए ।
सदियौँ पुराना माटोका संरचनाले भरिएको माटोको सहर लोमान्थाङका अधिकांश घरहरू चर्किएर बस्नै नमिल्ने अवस्थामा पुगेका छन् । गुरुङका अनुसार भूकम्पका कारण गाउँपालिका भित्रका करिब सबैजसो घरहरूमा चिरा परेको छ भने ५० प्रतिशतभन्दा बढी घरहरू तत्काल बस्नै नमिल्ने गरी उच्च जोखिममा परेका छन् ।‘पुराना र नयाँ केही नभनी भूकम्पले क्षति गरेको छ । धेरैजसो घरहरू चिरिएका छन्,’ उनले भने, ‘अलिबेर अडिएर भूकम्प रह्यो भने सबै गर्ल्यामगुर्लुम ढल्छन् ।’
उनका अनुसार, २० देखि ३० प्रतिशत घरहरू पूर्ण रूपमा बस्न अयोग्य भएका छन् । ५० प्रतिशत जतिमा केही बढी क्षति भएको अनुमान गरिएको छ । भूकम्पका कारण मानवीय तथा पशु चौपायाको क्षति भने भएको छैन ।क्षतिको यकिन विवरण सङ्कलन गर्न प्राविधिक टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टोली फिल्डमा खटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालले जानकारी दिए ।
‘जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र सुरक्षा टोली वडा–वडामा पुगेर मुचुल्का उठाउने र क्षतिको अवलोकन गर्ने काम सुरु गरिसकिएको छ,’ उनले भने । माटोले बनेका परम्परागत ऐतिहासिक संरचना भएकाले थप पराकम्पन आएमा बाँकी घरहरू पनि भत्किने जोखिम उच्च छ ।गाउँपालिकाले क्षतिको वास्तविक विवरण सङ्कलन भइरहेको र यसबारे जिल्ला प्रशासन तथा सङ्घ र प्रदेश सरकारलाई समेत जानकारी गराइएको जनाएको छ ।
तपाईको प्रतिक्रिया