पोखरा एक्सप्रेस ,काठमाडौं।
सरकारले सार्वजनिक यातायातमा देखिएको लथालिंग व्यवस्था, बढ्दो वायु प्रदूषण, ट्राफिकजामलाई कारण देखाएर देशभर नयाँ सार्वजनिक सवारीसाधन दर्तामा रोक लगाएको छ। यातायात व्यवस्था विभागले बिहीबार सात वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीय (इलेक्ट्रिक) सार्वजनिक सवारीसाधनसमेतको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो।
परिपत्रमा सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा आवागमनमा कठिनाइ उत्पन्न भएको उल्लेख छ। इन्धनको बढ्दो मूल्य र सवारीको अत्यधिक चापले सिर्जना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक सवारी व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णयमा पुगेको विभागले जनाएको छ।विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) अनुसार यस्तो निर्णय गरिएको जनाएको छ। उक्त ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखे विभागले आदेश दिन सक्ने कानुनी व्यवस्था छ।
सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरेसम्मका लागि तत्काल यो निर्णय लागू हुने स्पष्ट पारेको छ। यो निर्णयसँगै अब अर्को व्यवस्था नभएसम्म देशभर कुनै पनि प्रकारका नयाँ सार्वजनिक सवारीसाधन दर्ता गरिने छैन।
तपाईको प्रतिक्रिया