पोखरा एक्सप्रेस ,काठमाडौं।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसहित २९ जनाविरुद्ध २० अर्ब बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ।
विभागले वैशाख दोस्रो साता सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको प्रतिवेदनमा २९ जनाविरुद्ध २० अर्बको मागदाबी सिफारिस गरिएको हो।
विभागले इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल र उनकी श्रीमती सुभी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष शाहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।
विभागले भट्टलाई चैत १९ र सुलभलाई चैत २१ मा पक्राउ गरेको थियो। सुलभका बुबासमेत रहेका शंकर ग्रुपका अध्यक्ष शंकर चैत २० मा पक्राउ परेका थिए भने उनलाई दुई दिन हिरासतमा राखेर हाजिरी जमानीमा छाडेको थियो। भट्ट र सुलभ हिरासतमै छन्। गोल्छालाई पनि पक्राउ गरेर अनुसन्धान सुरु गरिएको थियो। सर्वोच्च अदालतको आदेशले उनी रिहा भइसकेका छन्। अन्य आरोपित फरार छन्।
जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालयन रि–इस्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चाचानलगायतविरुद्ध पनि मुद्दा चलाइनुपर्ने विभागको सिफारिस छ।
बिमा, धितोपत्र र सेयर कारोबारसम्बन्धी कानुनविपरीत कसुर गरेका आरोपीविरुद्ध २ देखि १० वर्षसम्म कैद, बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफतको माग गरी मुद्दा दायर गर्ने तयारी भइरहेको विभाग स्रोतले बताएको छ।
तपाईको प्रतिक्रिया