१६ पुस ,पोखरा । पोखरा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण ड्रागन बोट रेसमा चिनियाँ टोलीले उपाधिमा क्लीन स्वीप गरेको छ । फेवातालमा आइतबार र सोमबार भएको २०० र ५०० मिटर इभेन्ट रेसको दुवैतर्फ पाहुना टोलीले उपाधिमा कब्जा जमाएको हो । कुल २० मध्ये नेपालका ११ वटै टिम उपाधिबाट वञ्चित भए ।
प्रतियोगितामा डोङग्वान लाओयू क्लबले दोहोरो उपाधि जित्यो । २०० मिटर रेसमा उसले निर्धारित दूरी पार गर्न ४७.७२० सेकेण्ड लगायो । सोही इभेन्टमा चीनकै युन्नान मिन्जु युनिभिर्सिटी दोस्रो भयो ।
उसले निर्धारित दुरी ४८.२२० सेकेण्डमा पूरा गरेको हो । चीनकै लाइओचेङ युनिभर्सिटी टिमले उक्त दूरी ५०.८३० सेकेण्डमा पूरा गरी तेस्रो भयो ।
यस्तै, ५०० मिटरको रेसमा उपाधि जितेको डोङग्वान लाओयू क्लबले निर्धारित दुरी २.०४.४७० मिनेटमा पूरा गरेको थियो । लाइओचेङ युनिभर्सिटीको टिम दोस्रो भयो । उसले निर्धारित दूरी २.०७.३४० मिनेटमा पूरा गरेको थियो । यस्तै, २.०८.४४० मिनेटमा दूरी पार गरी युहान स्पोर्टस् युनिभर्सिटी तेस्रो भएको ड्रागन बोट एसोसिएसन गण्डकी प्रदेशका सचिव विवेक भुजेलले जनाए ।
२०० मिटर र ५०० मिटर दूरीको विजेता समूह डोङग्वान लाओयू क्लबले ५÷५ हजार अमेरिकी डलर (नेपाली करिब ६ लाख ७९ हजार) प्राप्त गरेको छ ।उपविजेताले २ हजार डलर (नेपाली करिब २ लाख ७१ हजार) र तेस्रो हुनेले १२०० डलर (नेपाली करिब १ लाख ६३ हजार) नगदसँगै प्रमाणपत्र र ट्रफी पुरस्कार प्राप्त गरेका छन् । सहभागी सम्पूर्ण टोलीलाई पाँच सय डलर (नेपाली करिब ६८ हजार) नगद पुरस्कार दिइयो ।गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनीज एसोसिएसनको सहआयोजनामा पोखरामा दोस्रोपल्ट यो फेस्टिभल आयोजना भएको हो ।
तपाईको प्रतिक्रिया