पुर्ख्यौली धानखेतीबाट वार्षिक चार लाखभन्दा बढी आम्दानी
- Pokhara Express
- २०८३ मंसिर ८ सोमबार
म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले यस वर्ष ७० मुरी धान फलाएका छन्। पुर्ख्यौली खेतीकिसानीलाई निरन्तरता दिँदै आएका उनले गौरिया जातको धानबाट चामल उत्पादन गरी वार्षिक चार लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।भण्डारी परिवार पीपलबोट क्षेत्रमा सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानका रूपमा परिचित छ। उनले बाउबाजेको पालादेखि २३ रोपनी जग्गामा गौरिया र जेठोबुढो जातको धान खेती गर्दै आएका छन्। ‘गौरिया धानको बास्ना राम्रो आउँछ र उत्पादन पनि राम्रो हुन्छ, यस वर्ष बिक्रीका लागि ४५ मुरी गौरिया धान भकारीमा भण्डारण गरेको छु,’ भण्डारीले भने, ‘घरायसी उपभोग र आफन्तलाई कोसेली पठाउन २५ मुरी जेठोबुढो धान फलाएको छु।’
यस वर्ष फलेको ७० मुरीमध्ये ६० मुरी आफ्नै खेतमा उत्पादन भएको र १० मुरी अधियाँमा खेती गरेर प्राप्त गरेको उनले बताए। धानलाई घुन र मुसाबाट जोगाउन उनले काठको बाकस बनाएर बाहिर गोबरले टाली सुरक्षित भण्डारण गरेका छन्।
उनले घरमै रहेको विद्युतीय मिलबाट धान कुटेर चामल बिक्री गर्दै आएका छन्। बेनी, पोखरा, काठमाडौँ र दरवाङसम्म गौरिया चामलको माग आउने गरेको छ। पछिल्लो समय यातायात र सञ्चार सुविधाले व्यापार गर्न सहज भएको उनकी बुहारी गीता सुवेदी भण्डारीले बताइन्। ‘पहिले चामल बोकेर बजार पुर्याउनुपर्थ्यो, अहिले फोनबाटै माग आउँछ, गाडीमा पठाइदिन्छौँ र उपभोक्ताले बैङ्क खातामा पैसा जम्मा गरिदिनुहुन्छ,’ उनले भनिन्।प्रतिपाथी गौरिया चामल एक हजार रुपैयाँमा बिक्री हुँदै आएको छ। वर्षमा ५०० पाथीसम्म चामल बिक्री हुने गरेको भण्डारीले बताए। गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको उनको भनाइ छ।
स्वाद र बास्नाका कारण व्यापारी, उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी, राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिको रोजाइमा गौरिया चामल पर्ने गरेको छ। म्याग्दीको मौलिक रैथाने बालीका रूपमा परिचित गौरिया धानको मुख्य विशेषता पाक्दा आउने विशिष्ट बास्ना, स्वादिलो भात र आडिलोपन हो। मङ्गला गाउँपालिकाका छिस्वाङ, रणवाङ, पीपलबोट, सेराफाँट, कुरसिम्ला, खोप्ती, तल्लोपोक, बाबियाचौर, सिमलचौर, सातबिसे, सिम र कोत्रवाङ क्षेत्रमा यसको खेती हुँदै आएको छ।
स्थानीय किसान छविलाल सापकोटाका अनुसार पीपलबोट र सेराफाँटका किसानले सरदर ४० मुरीसम्म धान उत्पादन गर्छन्। यस क्षेत्रबाट वार्षिक करिब दुई हजार ५०० मुरी गौरिया धानको चामल बिक्री हुने गरेको छ। एक मुरीमा २० पाथी हुन्छ।
म्याग्दी नदीको तटीय क्षेत्रका गैरीखेतमा खेती हुने भएकाले यसको नाम गौरिया रहन गएको स्थानीय किसानको भनाइ छ। पछिल्लो समय खेतीयोग्य जमिन बाँझिने क्रम बढिरहेका बेला भण्डारी परिवारले निरन्तर गरेको धानखेती र व्यावसायिक सफलताले अन्य किसानलाई पनि प्रोत्साहित गरेको स्थानीय शिक्षक रेशमलाल सापकोटाले बताए।
खेतीबाट भएको आम्दानीले घरव्यवहार चलाउनुका साथै भण्डारीले एक छोरा र दुई छोरीलाई उच्च शिक्षा प्रदान गरेका छन्। विदेश नगई पुर्ख्यौली पेसालाई निरन्तरता दिएका उनले पछिल्लो समय रोपाइँ र बाली भित्र्याउने समयमा श्रमिक अभाव हुँदा खेतीको लागत बढेको र बचत घटेको बताए। आफ्ना छोरानातिले पनि आधुनिक प्रविधिको प्रयोग गरी उर्वर जमिनको सदुपयोग गर्दै खेतीकिसानीलाई निरन्तरता दिऊन् भन्ने उनको चाहना छ।-रासस
तपाईको प्रतिक्रिया