ताईवान बस्ने नेपालीहरुद्वारा भोटेकोशी बाढिपीडितलाई ३२ लाख बढी सहयोग
- Pokhara Express
- २०८३ कातिर्क १९ बुधबार
‘जहाँ भएपनि मन त नेपालीनै हो’–अध्यक्ष अधिकारी
पोखरा एक्सप्रेस ,पोखरा
नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडित राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई सहयोग रकमको डमीचेक हन्तान्तरण गरेको हो । संघले उक्त रकम प्रधानमन्त्री राहत कोषको बैंकखातामा जम्मा गरेको थियो । मन्त्रालयमा आयोजित कार्यक्रममा संघको तर्फबाट उपाध्यक्ष वीरेन्द्रबहादुर ताम्राकारले चेक हस्तान्तरण गर्नुभएको हो । संघले ३२ लाख ४ हजार ४६५ रुपिया सहयोग गरेको थियो ।
रकम हस्तान्तरण गर्दै उपाध्यक्ष ताम्राकारले ताईवानमा बस्ने नेपालीको तर्फबाट रसुवा भोटेकोशी बाढीपिडित राहतकोषमा आर्थिक सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो–ताईवानमा हामीले नेपालमा कुनै पनि समस्या पर्दा सधैं आर्थिक सहयोग गरिरहेका छौं । दुर्घटनामा परेका नेपालीको उपचारको लागि सहयोग नेपाली भएको नाताले नेपालमा सहयोग गरेको उहाँले बताउनुभयो–दुर्घटनामा बितेकालाई पनि सहयोग गरेका थियौं ।
करिब २ सय नेपालीले सकेसम्म मद्दत गरिरहेका छन् । यो सहयोग जारी रहने उहाँले बताउनुभयो । २०७२ सालको भुकम्पमा संघले सहयोग गरेको थियो । संघले भूकम्पबाट ध्वस्त सिन्धुपाल्चोकको विद्यालय पुननिर्माण गरेको थियो भने विद्यार्थी र पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको थियो । ताम्राकारले नेपालमा विपत्ति आउँदास सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । ‘हामीले नेपालीलाई परेका कुनै पनि समस्या समाधान गर्न सदैव लागिरहेका छांै । यस किसिमको सहयोग निरन्तर जारी राख्नेछौं ।’ उहाँले भन्नुभयो ।
रकम हस्तान्तरण कार्यक्रममा संघका सल्लाहकार राजेश श्रेष्ठ, सदस्यहरु समिर मानन्धर, कर्मा धिनबुप, शंकर महर्जन, सुबोध प्रधान, प्रदीप श्रेष्ठ, प्रतीक श्रेष्ठ, ताईवानी नागरिक चाङक्यु लगायतको उपस्थिति थियो ।
यसैबीच संघले ताईवानमा बस्ने नेपालीका समस्या समाधान गर्न मन्त्री यादवलाई आग्रह गरेको छ । संघले मन्त्री यादवलाई ताईवानमा बसोबास गर्ने नेपाली नागरिकले भोग्नुपरेको एउटा महत्वपूर्ण समस्याप्रति नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
ध्यानाकर्षपत्रमा उल्लेख छ–नेपाल सरकारले अवलम्बन गर्दै आएको हाम्रो छिमेकी मित्रराष्ट्र एक चीन नीतिका कारण ताईवानलाई कूटनीतिक तथा राजनीतिक दृष्टिकोणबाट संवेदनशील रूपमा लिइँदै आएको हामीले बुझेका छौं । तर, यस नीतिको प्रभावस्वरूप ताईवानमा बसोबास गर्ने नेपाली नागरिकले नेपालसँग सम्बन्धित विभिन्न सरकारी तथा प्रशासनिक कामहरु गर्दा अनावश्यक कठिनाइ र असहजता भोग्नुपरेको अवस्था रहेको जानकारी गराएको छ । ‘हामी ताईवानमा रोजगारी, व्यवसाय तथा विभिन्न पेसा र अध्ययनका सिलसिलामा बसोबास गर्दै आएका नेपाली नागरिक हौं । हाम्रो भौगोलिक बसोबास जहाँ भए पनि हाम्रो राष्ट्रिय पहिचान नेपाली नै हो । हामी नेपालको संविधान, कानुन र राष्ट्रिय हितप्रति सम्मान राख्दछौं र नेपालसँगको आफ्नो सम्बन्धलाई आत्मीयताका साथ जोडेर राख्न चाहन्छौं । नेपालको परराष्ट्र नीतिलाई सम्मान गर्दै हामीमाथि पनि अन्य देशमा बसोबास गर्ने नेपाली नागरिकसरह समान व्यवहार गरियोस् भन्ने हाम्रो विनम्र अनुरोध छ’–ध्यानाकर्षणपत्रमा भनिएको छ ।
यसैविच संघका अध्यक्ष नविन अधिकारीले आफुहरु जहाँ रहेपनि नेपाललाई दुख्दा आफुहरुलाई पनि दुख्ने बताउँदै नेपालीको पिडामा केहि भएपनि मल्हम पट्टि गर्ने कोशिष गरेको बताउनुभयो । सहयोग संकलनमा सहयोग गर्ने संघका निवर्तमान अध्यक्ष राजु गुरुङसहित सबैलाई उहाँले धन्यवाद दिनुभयो ।
तपाईको प्रतिक्रिया