पोखरा एक्सप्रेस ,रौतहट ।
रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले एक युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार गरेका छन्। गोली लागेर गौर नगरपालिका–४ गढवाका रामविलास यादवका छोरा राकेश कुमार यादव गम्भीर घाइते भएका छन्।स्थानीयका अनुसार मंगलबार राति करिब ९ः१५ बजे गढवा गाउँस्थित पानी ट्यांकी नजिक यादवमाथि अज्ञात व्यक्तिले एक्कासि पाँच राउन्ड गोली प्रहार गरेका थिए। गोली प्रहारपछि घटनास्थलमा त्रास फैलिएको थियो भने घाइते यादवलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमका अनुसार गोली लागेर गम्भीर घाइते भएका यादवको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।घाइतेको सिटी स्क्यान गर्दा पिठ्युँमा दुई र हातमा एक गरी तीनवटा गोली लागेको देखिएको चिकित्सकबाट जानकारी प्राप्त भएको डीएसपी गौतमले बताए। शरीरका हात, पाखुरा र पिठ्युँलगायतका भागमा गोलीका घाउसमेत देखिएको उनले जानकारी दिए।घाइतेको अवस्था गम्भीर रहे पनि उनी चिकित्सकसँग कुराकानी गर्न सक्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ।युवकमाथि कसले र किन गोली प्रहार गर्यो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन। घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको अनुसन्धान तथा सम्भावित आक्रमणकारीको खोजी सुरु गरेको डीएसपी गौतमले बताए।सदरमुकाम गौरकै बस्तीमा रातिको समयमा भएको यो गोलीकाण्डले स्थानीय बासिन्दामा सुरक्षा चिन्ता बढाएको छ। पाँच राउन्ड गोली प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान र घटनाको वास्तविक कारण पत्ता लगाउनु प्रहरीका लागि चुनौती बनेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया