पोखरा प्रज्ञा प्रतिष्ठानले ‘गन्धर्व गुञ्जन’ कार्यक्रम गर्दै, ८६ कलाकारले प्रस्तुति राख्ने
- Pokhara Express
- २०८३ असोज ३ शनिवार
यही असोज १० गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको हलमा हुने कार्यक्रममा पोखरा तथा आसपासका विभिन्न स्थानका ८३ जना गन्धर्व कलाकार र तीन जना अतिथि कलाकारसहित ८६ जना कलाकारको सहभागिता रहने पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले जानकारी दिइन्।
उनका अनुसार कार्यक्रममा गन्धर्व कलाकारहरूले एकल, युगल तथा सामूहिक प्रस्तुति दिनेछन्। यसका अलवा वरिष्ठ कलाकार पूर्ण नेपाली, वरिष्ठ कलाकार कृष्णबहादुर गन्धर्व र युवा कलाकार कुशल बेलवासे सहितका कलाकारको प्रस्तुतिमा रम्न पाइनेछ।
कार्यक्रममा विशेषगरी गन्धर्व समुदायका मौलिक कला तथा सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ। पोखराको बाटुलेचौर, हेम्जा तथा लेखनाथ–बढहरे क्षेत्रका गन्धर्व कलाकारका प्रस्तुति, मौलिक तरबार नृत्य, तल्लो गगनगौडाका गन्धर्व कलाकारका मौलिक झ्याउरे तथा पुराना प्रस्तुतिहरू समावेश गरिने आयोजकले जनाएको छ।
त्यस्तै, सारङ्गी, मादल र बाँसुरीका धुनसँगै युवालाई लक्षित सारङ्गी वादन तथा गायन प्रस्तुति पनि रहनेछ। गन्धर्व समुदायका मौलिक पुर्ख्यौली गीत तथा घटनाका गीतका साथै पछिल्लो भोटेकोसी बाढीपहिरो घटनासँग सम्बन्धित गीतसमेत कार्यक्रममा प्रस्तुत गरिने जनाइएको छ।
पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव जीवन दाहालले कार्यक्रमलाई बृहत् र प्रभावकारी बनाउने तयारी भइरहेको बताए। गन्धर्व समुदायका मौलिक कला, सङ्गीत र प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्दै संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।
‘गन्धर्व कलाकारका प्रतिभा र सारङ्गीका धुनसँग पोखराको पनि पहिचान जोडिएको छ,’ दाहालले भने, ‘पोखरा आसपासका कलाकारका हिजो, आज र भोलिका सिर्जना तथा जीवनका कथालाई बाहिर ल्याएर संरक्षण गर्दै देश तथा प्रदेशस्तरमा पुर्याउने प्रयास हो।’
कुलपति प्रतीक्षासहितको नयाँ नेतृत्व आएपछि पोखरा प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको यो पहिलो कार्यक्रम हो। कला, सङ्गीत र साहित्यको उद्गमस्थलका रूपमा पोखराको पहिचानलाई थप उजागर गर्ने उद्देश्यले पहिलो कार्यक्रम सारङ्गी र गन्धर्व संस्कृतिबाट सुरु गरिएको प्रतिष्ठानले जनाएको छ।
कार्यक्रम दिउँसो १ बजे सुरु भई करिब तीन घण्टासम्म सञ्चालन हुनेछ। गन्धर्व जातिको कर्खा, निर्गुण, रत्यौली जस्ता गीत समेत प्रस्तुत हुने कार्यक्रममा प्रवेश निःशुल्क रहेको सदस्य सचिव दाहलले जनाए। कार्यक्रमको तयारीमा तीव्रता दिइएको उनको भनाइ छ । यसका अलाबा सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठको सहजिकरणमा गन्धर्व समुदायका व्यक्तिहरूको सहभागीतामा प्यानल डिस्कसन समेत हुने सदस्य सचिव दाहालले खुलाए ।
पोखरा महानगरपालिकाबाट प्रतिष्ठानको लागि चालु आर्थिक वर्षमा करिब १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजित भएकोमा १ करोड ३० लाख रुपैयाँ कार्यक्रम सञ्चालनमा र २० लाख रुपैयाँ कार्यालय सञ्चालनलगायतका काममा खर्च गर्ने योजना रहेको सदस्य–सचिव दाहालले जानकारी दिए। प्रतिष्ठानले आगामी दिनमा राष्ट्रव्यापी कविता सम्मेलनलगायतका विभिन्न कार्यक्रम आयोजना गर्ने तयारीसमेत गरेको छ।
तपाईको प्रतिक्रिया