पोखरा एक्सप्रेस ,पोखरा ।
विनयी त्रिवेणी गाउँपालिका नवलपरासीका विभिन्न ७ विद्यालयका प्रअ तथा शिक्षक सहितको ४२ जनाको टोलीले पोखरा ८ सिमलचौर स्थित जनप्रिय माविको स्थलगत भ्रमण गरेका छन् । बिहीबार विद्यालय परिसरमा प्रविधि मैत्री सिकाई परियोजना अन्तर्गत विभिन्न जिल्लाका सामुदायिक विद्यालयको अध्ययन अवलोकन गरेका हुन् । गाउँपालिकाका ७ वटा वडा भित्र पर्ने ७ वटा माविका प्रअ, शिक्षक तथा गाउँपालिकाका उपाध्यक्ष भगवती क्षेत्रीसहितको टोलीले जनप्रिय माविको ल्याव, कक्षा कोठा, सीप सिकाई विधि, रिजल्ट, शिक्षक व्यवस्थापन तथा अभिभावकसंगको व्यवहार लगायत विभिन्न विषयमा चासो राखेका थिए ।
कार्यक्रममा उपाध्यक्ष क्षेत्रीले सिक्ने र गर्नुपर्ने विषय धरै भएकाले शिक्षा क्षेत्रमा सुधारको आवश्यकता औंल्याएकी थिइन् । अवलोकन भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै जनप्रिय मावि शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमलाले अन्तरजिल्ला स्तरीय भ्रमणले शिक्षा क्षेत्रमा सुधार गर्नु पर्ने विषयको पहिचान हुने भन्दै व्यवहारिक शिक्षामा जोड दिएका थिए । अध्यक्ष धमलाले गण्डकी प्रदेशलाई शिक्षाको केन्द्र बनाउन सवै शिक्षक, विद्यार्थी र अभिभावकको उत्तिकै गहन भूमिका हुने बताएका थिए ।
प्रतिनिधि शिक्षकहरुले राखेको जिज्ञासामा जनप्रिय विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटीले असल अभ्यास सिकाईको लागि स्मार्ट वोर्ड तथा युग सुहाउँदो परिवेशलाई अंगाल्नु पर्नेमा जोड दिएका थिए । अनुशासन, दण्ड र पुरस्कार, साधन र स्रोतको व्यवस्थापन, अतिरिक्त कक्षा, शिक्षक अनुपस्थित हुँदाको व्यवस्थापन, अभिभावकसँगको समय व्यवस्थापन लगायत विषयमा धारणा राखेका थिए । जनप्रिय माविमा नवलपरासीका भानुदय मावि, मणिसंगम मावि, शिवपुरगढी मावि, सूर्यज्योति मावि, दीपेन्द्र मावि, नारायणी गण्डकी मावि लगायतको प्रअ तथा विभिन्न विषयगत शिक्षकहरुको उपस्थिति रहेको थियो । विनयी त्रिवेणी गापाका शिक्षा शाखा प्रमुख भुपराज पाण्डेयले सहभागिबीच सहजीकरण गर्दै परिचय गराएका थिए ।
तपाईको प्रतिक्रिया