प्राप्ति लम्साल, पोखरा एक्सप्रेस।
एशोसिएसन अफ युथ अर्गनाइजेसन नेपाल (AYON) द्वारा आयोजित जलवायु तथा सामाजिक कार्यका लागि युवा प्रशिक्षण (Youth for Climate and Social Action Training – YCSA) अन्तर्गत सञ्चालन गरिएको “द लास्ट ड्रप: इकोका लागि इको” परियोजनामा समावेश अन्तरविद्यालय भाषण प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा एस.ओ.एस. स्कुलकी दृष्या पौडेल प्रथम, बालमन्दिर स्कुलकी रक्षा शर्मा द्वितीय तथा बालोदयकी अलिसा भुसाल तृतीय स्थान हासिल गर्न सफल भइन्।
विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो भने सहभागी सबै विद्यार्थीहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।
उक्त प्रतियोगिता स्टुडेन्ट्स एसोसिएसन फर फोरेस्ट एन्ड इनभाइरोन्मेन्ट (SAFE), नेपाल र नेपालिज युथ फर क्लाइमेट एक्सन (NYCA), पोखरा को सहकार्य तथा ब्रिटिश काउन्सिलको सहयोगमा सम्पन्न गरिएको हो।
प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी रहेका थिए।
कार्यक्रम डा. विष्णु प्रसाद देवकोटा, सह–प्राध्यापक, इन्स्टिच्युट अफ फोरेस्ट्री, पोखरा क्याम्पसको प्रमुख अतिथिको उपस्थितिमा सम्पन्न भएको थियो। डा. देवकोटाले यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूमा जलवायु परिवर्तनप्रति सचेतना अभिवृद्धि गर्न, आलोचनात्मक सोच विकास गर्न तथा दिगो भविष्य निर्माणका लागि युवामा आधारित क्रियाशीलता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्रतियोगितामा रोजिना श्रेष्ठ, डा. दीपा पौडेल र सुनील सापकोटा निर्णायकको भूमिकामा रहेका थिए भने कार्यक्रम प्रोजेक्ट लिड सिमाना जी.टी. को अध्यक्षतामा सम्पन्न भएको थियो।
तपाईको प्रतिक्रिया