पोखरा एक्सप्रेस ,काठमाडौं।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनसँग आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने सूचना निकालेको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विकास सहायता कार्यान्वयन महाशाखाअन्तर्गतको आयोजनाले आज सार्वजनिक सूचना जारी गर्दै शुल्क संकलनसम्बन्धी विवरण सार्वजनिक गरेको हो।
सडक बोर्ड नेपालको कार्यकारी समितिको २०८३ असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १५ गतेदेखि यो दस्तुर असुली सुरु गर्न लागिएको आयोजनाले जनाएको छ।
आयोजनाले काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट बाहिरिने सवारीसाधनका लागि छुट्टाछुट्टै सडक उपभोग दस्तुरको दर तोकेको छ।काठमाडौं भित्रिने सवारीसाधनले वर्गअनुसार ६५ रुपैयाँदेखि अधिकतम ६०० रुपैयाँसम्म र काठमाडौंबाट बाहिरिने सवारीसाधनले ६० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म टोल शुल्क बुझाउनुपर्नेछ। आयोजनाले सुरुङमार्ग प्रयोगकर्ता सम्पूर्ण सवारीधनी तथा चालकलाई तोकिएको शुल्क बुझाएर मात्र यात्रा गर्न सूचनामार्फत आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया