पोखरा एक्सप्रेस ,पोखरा ।
बेनी–जोमसोम सडक खुल्न अझै ७ दिन लाग्ने भएको छ । यद्यपि मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्डअन्तर्गत घासादेखि कोरलासम्मको सडक पहिरो हटाई दुई तर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। तातोपानी क्षेत्रमा नदीले काटेको भागमा ‘ब्याककटिङ’ गरी टेवा पर्खाल (Gabion wall) लगाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ।
त्यसैगरी पोखरेबजार पुलको पहुँच मार्ग (Approach) निर्माणको काम तीव्र रूपमा अघि बढाइएको छ।
राहुघाट हाइड्रोपावर अगाडिबाट बाटो खोल्न आयोजनाले आफ्नो संरचनातर्फ गेबियन पर्खाल लगाउने र टावर हटाउने काम गरिरहेकाले सडक विभागका उपकरणहरू गत ३ दिनदेखि ठप्प छ। सडक योजनाका प्राविधिक तथा कर्मचारीहरू काम सुरु गर्न टोली पर्खेर बसिरहेका छन्।
मुख्य बाटोमै उपकरण रोकिएकाले तातोपानीसम्मको खण्डमा मर्मतको काम अघि बढाउन सकिएको छैन। बिच-बिचमा उपकरणहरू भए पनि इन्धन (तेल) पुर्याउन नसकिएको प्राविधिकहरूले जनाएका छन्।
आज दिउँसोसम्म राहुघाट हाइड्रोपावरले गेबियन पर्खाल निर्माण सम्पन्न गरी टावर हटाइदिएमा र सडक विभागका उपकरणहरू अघि बढ्न पाएमा करिब ७ दिनभित्र बेनी-जोमसोम सडक खोल्न सकिने प्रारम्भिक अनुमान छ।
तपाईको प्रतिक्रिया