अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
- Pokhara Express
- २०८३ असोज ६ मङ्गलबार
पोखरा एक्सप्रेस ,म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको छ ।अन्नपूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, पाउद्वार, रातोपानी कुण्ड र रुप्से झरनामा प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर चालु आर्थिक वर्ष २०८३-०८४ मा रु एक करोड ३० लाख ६६ हजार पाँच सय ५५ आम्दानी गरिएकाे छ।पुनहिल, पाउद्धार, रातोपानी र रुप्से झरनाको आय ठेक्का सम्झौता भइसकेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिए । उनका अनुसार भुरुङ्ग–तातोपानी कुण्डमा प्रवेश शुल्क उठाउन र चमेनागृह सञ्चालनका लागि न्यूनतम रु नौ लाख ५० हजार कायम गरेर आव्हान गरिएको आयठेक्काको प्रस्ताव मूल्याङ्कनको चरणमा रहेको छ ।
पूर्वाधार निर्माणको तयारीमा रहेको भुरुङ्ग–तातोपानी कुण्ड असोज र कात्तिक महिना सञ्चालनका लागि ठेक्का आव्हान गरिएको हो । अन्नपूूर्ण गाउँपालिका–६ स्थित पुनहिलमा प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि घोडेपानीको सन्नी होटलले रु ७१ लाख पाँच सयमा ठेक्का सम्झौता गरेको छ ।पाउद्धार तातोपानी कुण्डको रु ५० लाख १० हजार, रातोपानीको रु चार लाख पाँच सय र रुप्से झरनामा प्रवेश शुल्क सङ्कलनका लागि रु पाँच लाख ५५ हजार पाँच सय ५५ मा ठेक्का सम्झौता भएको छ । पुनहिललाई रु ५२ लाख ५० हजार, पाउद्धार तातोपानीलाई रु २७ लाख ५० हजार, रातोपानी कुण्डलाई चार लाख र रुप्से झरनाको प्रवेश शुल्क उठाउन रु दुई लाख न्यूनतम शुल्क कायम गरेर ठेक्का आह्वान भएको थियो ।सबै पर्यटकीयस्थलको ठेक्कामा न्यूनतमभन्दा थोरै मात्र बढी कबोलेका व्यवसायीहरुले अग्रिम रुपमा राजस्व जम्मा गरेर कानुनअनुसार १० प्रतिशत छुट पाएका छन् । सेकार्कु तातोपानी, नारच्याङ र महभिर झरनाको क्यान्टिन सञ्चालन गर्न कसैको पनि प्रस्ताव परेन् ।
गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिकरूपमा व्यवसाय करबापत हरेकलाई रु ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेवापत रु ३६ हजार वाहलबटौली कर लिने गरेको छ । मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफी पसलबाट समेत व्यवसाय कर सङ्कलन गर्दै आएको छ ।गत आर्थिक वर्ष २०८२–०८३ मा रु दुई करोड १२ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले रु पर्यटकीयस्थलबाट रु एक करोड १५ लाख उठाएको थियो । चालु आर्थिक वर्षमा रु दुई करोड ५० लाख आन्तरिक आम्दानीको लक्ष्य राखिएकोमा पर्यटकीयस्थलको योगदान प्रमुख रहेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।
पुनहिल र भुरुङ्ग–तातोपानीमा नेपालीलाई प्रतिव्यक्ति रु ५० र विदेशीलाई रु एक सय ५० प्रवेशशुल्क कायम भएको छ । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल रहेको छ ।पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्द्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा भुरुङ्ग–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि रु दुई करोड ३० लाख विनियोजन भएको योजना कार्यान्वयनको तयारीमा रहेको छ ।-रासस
तपाईको प्रतिक्रिया