रसुवाका विपद् प्रभावितलाई न्यू ग्यालेक्सीको राहत कोषमा ५ लाख बढि सहयोग
- Pokhara Express
- २०८३ भाद्र ३१ बुधबार
पोखरा एक्सप्रेस ,पोखरा ।
न्यू ग्यालेक्सी मावि पोखरा–३ नदिपुरले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नगारिकहरुको राहत तथा पुनर्स्थापनका लागि ५ लाख १७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ ।रसुवा जिल्लामा प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले पोखरा–३ नदिपुरस्थित न्यू ग्यालेक्सी माध्यमिक विद्यालयले हिसान कास्की मार्फत ३ लाख १७ हजार ७ सय ७७ र एन प्याब्सन कास्की मार्फत २ लाख रुपैया प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने गरी रकम हस्तान्तरण गरेको हो । विद्यालय हिसान र एन प्याब्सनमा आवद्ध भएकोले तीनै संस्थामार्फत प्रधानमन्त्री राहत कोषामा सहयोग हस्तान्तरण गरेको हो ।
उक्त रकम न्यू ग्यालेक्सी माध्यामिक विद्यालयका प्रिन्सिपल तथा हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा, विद्यालयका निर्देशक तथा एन प्याब्सन कास्कीका कोषाध्यक्ष राजु कायस्थ, भाइस् प्रिन्सिपल राजेश श्रेष्ठले हिसानका केन्द्रीय उपाध्यक्ष डोलराज पाण्डे, कास्कीका अध्यक्ष दिवाकर जैसी, उपाध्यक्ष पुरन कुँवर तथा एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, कास्कीका अध्यक्ष मनकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारीलेलाई प्रधानमन्त्री राहत कोषामा जम्मा गर्ने गरी चेक हस्तान्तरण गरेका थिए ।विपद्का कारण घर, सम्पत्ति तथा दैनिक जनजीवन प्रभावित भएका नागरिकलाई साथ दिँदै विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय परिवारबाट संकलित रकम सहयोग गरेको विद्यालयका प्रिन्सिपल शर्माले जानकारी दिए ।
विद्यालयका प्रिन्सिपल शर्माले विपद्का बेला पीडित नागरिकको साथमा उभिनु विद्यालयको सामाजिक दायित्व भएको बताए। उनले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै मानवीय संवेदना, सहयोग र सामाजिक उत्तरदायित्वको संस्कार सिकाउनुपर्नेमा जोड दिए।शर्माले प्राकृतिक विपद् कुनै व्यक्ति वा समुदायको मात्र समस्या नभई समग्र समाजको साझा चुनौती भएको उल्लेख गर्दै विपद्का बेला सबै क्षेत्र एकजुट भएर प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा लाग्नुपर्ने बताए।
ॅविपद्का बेला हामीले पीडितको दुःखलाई आफ्नै दुःखका रूपमा अनुभूति गर्न सक्नुपर्छ। राहत रकमको आकारभन्दा पनि त्यसमा जोडिएको मानवीय भावना महत्वपूर्ण हुन्छ’ उनले भने, ॅशैक्षिक संस्थाले विद्यार्थीलाई पढाउने मात्र होइन, समाजप्रतिको जिम्मेवारी पनि सिकाउनुपर्छ।’
डा. शर्माले विपद् प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउनुका साथै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणलाई समेत प्राथमिकता दिनुपर्ने बताए। प्रभावित परिवारलाई सामान्य जीवनमा फर्काउन सरकारसँगै निजी क्षेत्र, शैक्षिक संस्था, गैरसरकारी क्षेत्र र आम नागरिकको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
आफ्नो क्षमताअनुसार विपद् प्रभावित नागरिकको सहयोगमा योगदान गर्न पाउनु विद्यालय परिवारका लागि गौरवको विषय भएको विद्यालयका निर्देशक राजु कायस्थाले बताए । विद्यालयले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय तथा सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे ।
तपाईको प्रतिक्रिया