गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
- Pokhara Express
- २०८३ असार ४ बिहीबार
पोखरा एक्सप्रेस ,सुनसरी।
साँझ पर्न थालेको छ। सवारीहरु भेडेटार चोकमा लामबद्ध छन्। केही पर्यटक होटलबाट चेकआउट गर्दैछन्, केही दिनभरको घुमफिरपछि घर फर्कने तयारीमा छन्। तर, उनीहरूको यात्रा अझै पूरा भएको छैन।
गाडी चढ्नुअघि धेरैजसो पर्यटकहरु सडकछेउका तरकारी पसलतर्फ लम्किएका छन्। कसैले रायोको साग किनिरहेका छन् त कसैले अकबरे खुर्सानी रोज्दै छन्। कतिपयले त किबी, आलु, सिमी र बोडीका झोला गाडीको डिक्कीमा हालिसकेका छन्।
पहिलो नजरमा यो सामान्य व्यापारजस्तो देखिए पनि यसले भेडेटारको बदलिँदो आर्थिक र सामाजिक चित्रलाई बयान गरिरहेको छ। एकातिर गर्मीबाट राहत खोज्दै पहाड उक्लिने पर्यटक छन् भने अर्कोतिर उनीहरूकै आगमनले जीवन धान्ने किसान र व्यापारी। पछिल्ला वर्षहरूमा भेडेटार केवल चिसो मौसमको गन्तव्य मात्र बनेको छैन, यो स्थानीय कृषि उत्पादनको महत्वपूर्ण बजारका रूपमा पनि विकसित हुँदै गएको छ।
तराईमा तापक्रम बढ्नासाथ भेडेटारको चहलपहल बढ्न थाल्छ। विराटनगर, इटहरी, धरान, दमक, इनरुवा, झापा र आसपासका सहरबाट दैनिक हजारौँ मानिस शीतल हावा खोज्दै यहाँ आइपुग्छन्। समुद्री सतहबाट एक हजार चार सय ३० मिटर उचाइमा रहेको भेडेटारको मौसम उनीहरूका लागि केही घण्टाको भए पनि राहतको अनुभूति हो।
एकैछिन घाम लाग्ने, केही बेरमै कुहिरोले डाँडा ढाक्ने, अनि फेरि चिसो हावाले शरीर स्पर्श गर्ने भेडेटारको आफ्नै लय छ। यही लयले वर्षौँदेखि पर्यटकलाई आकर्षित गर्दै आएको छ। तर, अहिले पर्यटकको आकर्षण केवल मौसममा सीमित छैन । यहाँको अर्को आकर्षण बनेको छ, स्थानीय किसानको खेतबाट सिधै बजारमा पुगेको ताजा अर्गानिक उत्पादन।
भेडेटार चोकमा विगत १६ वर्षदेखि तरकारी तथा फलफूल व्यापार गर्दै आउनुभएका दिपेश मगरका अनुसार गर्मी याम सुरु भएसँगै व्यापारको स्वरूप नै बदलिन्छ।
बिहानैदेखि तरकारी बोकेका गाडीहरू आइपुग्छन्। धनकुटाको राजारानी, नाम्जे, थुम्की, मूलघाट, डाँडाबजार र भोजपुरका गाउँहरूबाट ल्याइएका ताजा उत्पादनहरू पसलमा सजाइन्छन्। दिनभर पर्यटकको भीड लाग्छ र साँझसम्म अधिकांश सामग्री बिक्री भइसकेको हुन्छ।
“पहिले मानिसहरू घुम्न आउँथे र फर्किन्थे,” मगर भन्छन्, “अहिले धेरैजसोले फर्किँदा तरकारी पनि लैजान्छन्, पहाडको उत्पादन स्वादिलो र ताजा हुन्छ भन्ने विश्वास उपभोक्तामा बढेको छ।” उनका अनुसार बजारमा विषादीयुक्त तरकारीको चर्चा बढिरहेका बेला उपभोक्ताहरू अर्गानिक र स्थानीय उत्पादनप्रति आकर्षित भएका छन्।
स्थानीय किसान बुद्ध राईका अनुसार पहाडी क्षेत्रमा उत्पादन हुने तरकारीको स्वाद फरक हुन्छ। “यहाँको माटो, पानी र मौसमले उत्पादनलाई विशेष बनाउँछ,” उनले भने, “कहिलेकाहीँ मूल्य केही बढी पर्छ, तर ग्राहकले गुणस्तरका कारण स्वीकार गर्छन्।”
पर्यटकका कारण स्थानीय कृषकको जीवनमा पनि परिवर्तन आएको छ। केही वर्षअघिसम्म गाउँमा उत्पादन भएको तरकारी बेच्न किसानले बजार खोज्नुपथ्र्यो। अहिले भने बजार आफैँ किसानको ढोकासम्म पुगेको अनुभूति हुन्छ। पर्यटकको माग बढेपछि उत्पादन बढाउने किसान पनि बढेका छन्। कतिपयले नयाँ बाली लगाउन थालेका छन् भने कतिले व्यावसायिक खेतीतर्फ पाइला चालेका छन्।
पर्यटन र कृषिबीचको यही सम्बन्धले भेडेटारलाई अन्य पर्यटकीय गन्तव्यभन्दा फरक बनाएको छ। यहाँ आउने पर्यटक केवल प्राकृतिक सौन्दर्य हेरेर फर्किँदैनन्, उनीहरूले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष योगदान पनि पुर्याउँछन्।
विराटनगरबाट साथीहरूसँग भेडेटार घुम्न आएकी सरिता शर्मा हातमा सागसब्जीको झोला बोकेर मुस्कुराउँदै थिए। उनले भने, “यहाँ आउँदा मौसमको मज्जा त पाइन्छ नै, फर्किँदा घरका लागि ताजा तरकारी पनि लैजान पाइन्छ, अहिले त भेडेटार आएर तरकारी नकिनी फर्किएजस्तो लाग्दैन।”
सरिताको अनुभव धेरै पर्यटकसँग मेल खान्छ। कतिपयले आफ्ना लागि किन्छन्, कतिपयले आफन्तलाई कोसेलीका रूपमा लैजान्छन्। यसरी स्थानीय उत्पादन भेडेटारबाट पूर्वी तराईका सहरहरूसम्म पुगिरहेको छ।
होटल एसोसिएसन भेडेटारका सचिव रमेश श्रेष्ठका अनुसार अहिले दैनिक ३० देखि ४० हजार पर्यटक भेडेटार पुग्ने गरेका छन्। सप्ताहन्त र सार्वजनिक बिदाका दिन यो संख्या ६० हजार हाराहारी पुग्छ। तीमध्ये केही पर्यटक रात बिताउँछन् भने धेरैजसो केही घण्टा घुमेर फर्किन्छन् । तर छोटो बसाइ भएका पर्यटकले पनि स्थानीय बजारमा खर्च गर्ने भएकाले आर्थिक गतिविधि उल्लेख्य रूपमा बढेको छ।
भेडेटारमा अहिले साना–ठूला गरी डेढ सयभन्दा बढी होटल सञ्चालनमा छन्। होटल, रेष्टुराँ, चिया पसल, कृषि उत्पादन विक्रेता, ढुवानी व्यवसायी, हस्तकलाका व्यापारी सबै पर्यटनसँग जोडिएका छन्। पर्यटकको आगमनले एउटा सम्पूर्ण स्थानीय अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ।
भेडेटार आसपासका पाथीभरा मन्दिर, स्काइ वाक, शङ्खेश्वर महादेव मन्दिर, नाम्जे, नमस्ते झरना, शैलुङडाँडा, चाल्र्स प्वाइन्ट, गुम्बा तथा ध्वजेडाँडाजस्ता गन्तव्यले पनि पर्यटकलाई आकर्षित गरिरहेका छन्। यी स्थल घुम्ने क्रममा पर्यटक स्थानीय गाउँसम्म पुग्छन् र त्यहाँको उत्पादनसँग परिचित हुन्छन्। यसले ग्रामीण पर्यटन र कृषि दुवैलाई फाइदा पु¥याएको छ।
विशेषज्ञहरूका अनुसार स्थानीय उत्पादन र पर्यटनलाई जोड्न सकिए ग्रामीण विकासको दिगो मोडेल निर्माण गर्न सकिन्छ। भेडेटारमा त्यही सम्भावना विस्तारै देखिन थालेको छ। यहाँको कृषि उत्पादनले पर्यटकलाई आकर्षित गरिरहेको छ भने पर्यटकले किसानलाई बजार उपलब्ध गराइरहेका छन्। दुवै पक्षले एकअर्कालाई बलियो बनाइरहेका छन्। संगीता राई/रासस
तपाईको प्रतिक्रिया