काठमाडौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सुरु गरेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ मा हालसम्म ८७ दशमलव शून्य आठ प्रतिशत गणना सम्पन्न भएको छ। थापाथलीस्थित कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत गणनाको हालसम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो।
कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले वैशाख २ गतेदेखि सुरु भएको गणना आगामी असार ७ गतेसम्म जारी रहने बताए। यसबीचमा देशभरका गणकहरूले स्थलगत तथ्याङ्क सङ्कलन गरी हालसम्म आठ लाखभन्दा बढी कागजी फारम र १० हजारभन्दा बढी ‘इसेन्सस टोकन’ बाँडिसकेका उनले जानकारी दिए।
कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा कमलप्रसाद पोख्रेलले स्थलगत विवरण सङ्कलन सक्रिय रूपमा भइरहेको बताउँदै गणनामा खटिने प्रतिष्ठानहरूले सत्य तथ्य विवरण उपलब्ध गराई दिन आग्रहसमेत गरे। उनका अनुसार खास गरी रेडियोमा काम गर्ने सञ्चारकर्मीले गणना भइरहेको बारे प्रचारप्रसार गरेर सहजीकरण गरिदिन अनुरोध गरे।
प्रमुख तथ्याङ्क अधिकारी डा पोख्रेलले सरकारलाई आगामी लक्ष्य पूरा गर्न राष्ट्रिय आर्थिक गणना महत्त्वपूर्ण आधार बन्न सक्ने धारणा राखे। प्रतिष्ठान, व्यवसायको संरचना, सङ्ख्या, विवरण र रोजगारी तथा आर्थिक विवरण प्राप्त गर्ने, कुल ग्रार्हस्थ्य उत्पादन तथा राष्ट्रिय लेखाका अन्य अनुमानलाई समयसापेक्ष सुदृढीकरण गर्ने, प्रतिष्ठानमा आधारित सर्वेक्षण सञ्चालन गर्नका लागि तथ्याङ्कीय ‘स्याम्पल फ्रेम’ प्राप्त गर्ने, सङ्घीय संरचनामा सबै सरकारलाई आर्थिक विकासको नीति, योजना तथा कार्यक्रम तर्जुमा र मूल्याङ्कन गर्नेलगायत उद्देश्यका लागि आर्थिक गणना प्रभावकारी हुने उनले बताए।
तपाईको प्रतिक्रिया