पोखरा भ्रमण वर्ष २०२५ मनाउन पाेखरा महानगरको तयारी
- Pokhara Express
- २०८१ माघ १३ आइतबार

जमुना वर्षा शर्मा
पोखरा, माघ १३
पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई “नेपालको पर्यटनको राजधानी” घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुबै तरिकाबाट । पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै यस क्षेत्रले आर्थिक, सामाजिक, र सांस्कृतिक रूपमा महत्त्वपूर्ण फाइदाहरू लिने विश्वासले पोखराका पर्यटन व्यवसायीमा बेग्लै ऊर्जा थप्यो ।
घोषणा पश्चात पोखरालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै स्थानीय अर्थतन्त्रमा वृद्धि, रोजगारीका अवसर सिर्जना, र पूर्वाधार विकासको गति तीव्रसँगै यसले पर्यटकहरूलाई आकर्षित गर्दै स्थानीय कला, संस्कृति, र प्राकृतिक सौन्दर्यको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास सरोकारवाला सबैले थियो ।
घोषणा पछि विरोध भनौ वा आलोचनात्मक दृष्टिकोणबाट पनि टिकाटिप्पणी नभएका होइनन । पूर्वतयारी बिना पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको विषयले धेरै बहस सृजना गरेको थियो । उचित रणनीति, पूर्वाधार विकास, र दीर्घकालीन योजना निर्माण नगरी गरिएको यो घोषणाले पर्यटन व्यवसायी, स्थानीय समुदाय, र सरोकारवालाहरूलाई अन्योलमा पारेको टिकाटिप्पणी नागरिकस्तरबाट उठे र उठिरहेकाछन् ।
बेला बेला यस्तै यस्तै पेचिला प्रश्नहरुको सामाना गरिरहेको पोखरा महानगर पालिकाले अहिले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्ने तयारी गरिरहेको छ । महानगरको नीति तथा कार्यक्रममा समेटेको भ्रमण वर्षलाई यहि जनवरी महिनाको अन्तिम या फ्रेबुअरीमा औपचारिक कार्यक्रम गरेर अघि बढाउने तयारी गरिरहेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । “महानगरको नीति तथा कार्यक्रममै पोखरा भ्रमण वर्ष २०२५ समावेश गरेका थियौ, अग्रजी नयाँ वर्षमानै घोषणा गर्ने भने पनि प्राविधिक कारणले केहि ढिला हुन पुग्यो ,अब औपचारिक रुपमै घोषणा गर्नेछौ ।” उहाँले पोखरा भ्रमण वर्षलाई सफल बनाउन विशेष तयारीमा साथ लागि परेको बताउनुभयो । “अब ढिला हुँदैन विशेष कार्यक्रममार्फत औपचारिक रूपमा घोषणा गर्नेका लागि तयारीमा जुटेका छौ ।” उहाँले नेपालको पर्यटकीय राजधानीको रूपमा रहेको पोखरालाई उत्कृष्ट गन्तब्य बनाउनका लागि विभिन्न पर्यटकीय गतिविधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिएको बताउनुभयो । “पोखरा भ्रमण वर्ष २०२५ हाम्रो महानगरको पर्यटन क्षेत्रको उन्नति र प्रवद्र्धनका लागि कोसेढुंगा सावित हुने विश्वास सहित हामीले गृहकार्य थालेका छौ, सफल बनाउँछौ ” मेयर आचार्यले भन्नुभयो ।
उहाँले सबै सरोकारवालाहरू सरकार, निजी क्षेत्र, स्थानीय समुदायको सशक्त समन्वय र प्रतिबद्धताले मात्र पोखरालाई एउटा प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिने भएकाले यसको दीर्घकालीन सफलताका लागि एकीकृत र समर्पित प्रयासहरू आवश्यकताको खाँचो औल्याउनुभयो । “पोखराको पर्यटनलाई साँचो अर्थमा नयाँ उचाइमा पु¥याउनका लागि सबै पक्षको समन्वय र दीर्घकालीन दृष्टिकोण अपनाउनु पर्छ ।” आचार्यले भन्नुभयो ।
उहाँले मित्र राष्ट्र चीनले आफ्ना नागरिकहरूका लागि नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको र यसले नेपालको पर्यटन प्रवद्र्धनमा ऐतिहासिक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । “यो कदमले नेपाल र चीनबीचको मित्रता अझ सुमधुर बनाउनुका साथै पोखरा लगायत नेपालको पर्यटकीय गन्तव्यलाई विश्वव्यापी रूपमा चिनाउने अवसर प्रदान गरेको छ । ”
एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा पोखराको पर्यटन विकास र स्थानीय जीविकोपार्जन सुधारका लागि विभिन्न परियोजनाहरु अहिले संचालित रहेको पोखराको पर्यटन सुधार परियोजनाहरुबाट काम शुरुआत भएको पनि आचार्यले जानकारी दिनुभयो । नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्षको अवसरमा ठमेल र भक्तुरमा आयोजना गरिएका सांस्कृतिक महोत्सवहरूले नेपालको सांस्कृतिक विविधता, परम्परा, र पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने उहाँको भनाइ छ ।
पोखरा महानगरपालिकाका पर्यटन तथा शहरी विकास महाशाखा प्रमुख विमल रञ्जन कार्कीले पोखरा महानगरले वर्ष २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा सफल बनाउनका लागि विभिन्न योजनाहरू समेटेको बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय उडान प्रोत्साहन अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रमुख देशहरूमा नियमित उडान सुरू गर्ने योजना राखिएको छ ,पर्यटन विविधीकरणका लागि साहसिक पर्यटनसँगै सांस्कृतिक, ग्रामीण, र पर्यावरणीय पर्यटनलाई प्राथमिकता दिने तथा स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा आधारित योजनाहरू लागू गरेर उनीहरूको आर्थिक स्थिति सुधार गर्ने उद्देश्य महानगरले राखेको छ । साथै, डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा पोखराको प्रचार–प्रसार गर्दै पर्यटकलाई अविस्मरणीय अनुभव प्रदान गर्ने “लाइफ टाइम एक्सपेरियन्स” दिने नयाँ कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
महानगरले यो घोषणा पश्चात १५ लाख पर्यटक भित्रयाउने महत्वाकांक्षी योजना अघि सारेको कार्कीले जानकारी दिनुभयो । “यस योजनामा पर्यटन, पूर्वाधार विकास, वातावरणीय दिगोपन, र सामुदायिक उत्थानलाई प्राथमिकता दिइएको छ ।” कार्कीले भन्नुभयो “निजी क्षेत्रसँग सहकार्य गर्दै वर्षभरि पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य महानगरले राखेको छ । ”
उहाँका अनुसार प्रत्येक वडामा कम्तीमा एक पर्यटकीय गन्तव्य विकास गरी तालदेखि ताल, गुफादेखि गुफा, हाइकिङ मार्ग निर्माण गरिनेछ । विशेष परियोजनाहरू अन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण, डेभिज फल्समा ग्लास ब्रिज, सेती नदी खोंचमा पर्यटक पूर्वाधारको विकास, फोहोर व्यवस्थापन केन्द्र लगायतका छन् । यी योजनाहरू कार्यान्वयन गरी पोखरालाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउने र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने लक्ष्य सहित महानगरले रणनीति तय गरेको कार्कीले बताउनुभयो । फेवाताल, सराङकोट, र अन्नपूर्ण सर्किट जस्ता गन्तव्यहरूलाई थप प्रवद्र्धन गर्नुका साथै नयाँ पारिस्थितिक पर्यटन पहल, सांस्कृतिक पर्यटन कार्यक्रम, र समुदाय–आधारित परियोजनामार्फत पर्यटकलाई विविध अनुभव प्रदान गर्ने प्रयास पनि भइरहेको छ ।
त्यसैगरी प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदामा आधारित पर्यटन कार्यक्रम सञ्चालन गर्नुका साथै मुक्तिनाथ प्रवेशद्वार निर्माण, फेवातालमा बाँध निर्माण, कोत्रे मझुवामा बहुउद्देश्यीय प्रवेश पार्क, फेवातालको माथिल्लो भागमा फेवा बिच विकास, रत्न मन्दिरलाई दरबार सङ्ग्रहालयका रूपमा पुनर्निर्माण, हेरिटेज ट्रेल, र मेट्रो ट्याक्सी सेवा जस्ता पूर्वाधार विकास योजनाहरू कार्यान्वयन गरिने जनाइएको छ ।
पोखरा महानगरलाई एडिबिबाट शहरी उत्थानशिल तथा जीवनयापन सुधार आयोजनाका लागि ३१.७९ मिलियन डलर आर्थिक सहयोग गरेको आयोजनाका म्यानेजर इन्जिनियर कविता पौडेलले जानकारी दिनुभयो । उहाँले तीनवटा प्रमुख परियोजना र सात वटा उपपरियोजनाबाट पोखराको बृहत्तर विकासकालागि चरणबद्ध रुपमा कामको थालनी भएको र यसले पोखराको पर्यटन विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले पोखरा महानगरपालिकाले घोषणा तयारी गरेको पोखरा भ्रमण वर्षले पर्यटन क्षेत्रको विकास र पोखराको विश्वव्यापी पहिचानका लागि महत्वपूर्ण अवसरका रूपमा लिन सकिने बताउनुभयो । “पोखरालाई प्रकृतिले सबै कुरा दिएको छ मात्र यसको व्यवस्थापनका लागि महानगरले अग्रसर हुन जरुरी छ ।” भुजेलले भन्नुभयो । उहाँले हालै मात्र सम्पन्न अन्तराष्टिय ड्रागन बोट रेस प्रतियोगिता, सडक महोत्सव, अन्तराष्ट्रिय हट एयर बेलुन महोत्सव जस्ता जल, जमिन र आकाश लक्षित महोत्सवहरुले अन्तराष्टिय जगतमा पोखरालाई चिनाउन थप सहयोग पुर्याएको बताउनुभयो । उहाँले भ्रमण वर्षका लागि पनि साहसिक पर्यटन, ग्रामीण पर्यटन, र सांस्कृतिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । “पोखराको पर्यटनलाई दिगो र समृद्ध बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता, पर्यावरणीय संरक्षण, र उत्कृष्ट पूर्वाधार विकास अनिवार्य छ, महानगरले यी कुरालाई प्राथमिकतमा राख्नुपर्छ ।” भुजेलले भन्नुभयो । उहाँले सबैको राय सुझाव ग्रहण गरेर पर्यटन व्यवसायी र स्थानीयले अपनत्व लिने गरी नियमित रुपमा महानगरले वार्षिक क्यालेण्डर बनाएर पर्यकीय गतिविधि गर्नुपर्नेमा उहाँको भनाइ छ । “सहि समयमा सहि कार्य गर्न सके मात्र त्यसले सार्थकता पाउँछ, पर्यटकीय राजधानी घोषणा पछि पर्यटन आगमनको अपेक्षामा बसेका व्यवसायीलाई भ्रमण वर्ष घोषणाले केही राहत हुन्छ की ।” उहाँले पर्यटन विकासका लागि स्थानीय सरकारसँगै प्रदेश र संघ सरकारबाट पनि विशेष योजनाहरु हुनुपर्ने बताउनुभयो ।
पोखरा महानगर सहरी योजना आयोगका पूर्व उपाध्यक्ष तथा पर्यटन रणनीतिका योजनाकार डा. रामचन्द्र लामिछानेले भ्रमण वर्ष घोषणा मात्र नगरी यसको लक्ष्य हासिल हुने गरी काम गर्नु पर्ने बताउनुहुन्छ , “पोखरा भ्रमण वर्ष घोषणा गरेर मात्र पर्यटक आउँदैनन, रणनीतिक योजना सहितका कार्यक्रम र पुर्वाधार विकासमा ध्यान दिनुपर्छ । उहाँले यस अघि पनि महानगरमा पर्यटन रणनीतिक योजना बने पनि कार्यन्वयनका सवालमा नेतृत्ववर्ग उदासिन रहने गरेको बताउनुभयो । “कुनै पनि कार्यक्रम योजना सहित अघि बढ्नु पर्छ, घोषणाले एउटा तरंग ल्याउँला तर उद्देश्य हासिल गर्नका लागि रणनीतिक योजना, सांस्कृतिक संरक्षण, र पर्यावरणीय दिगोपन लगायतका विषयलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ,” उहाँले घोषणलाई व्यवहारमा उतार्नका लागि स्पष्ट रणनीति र दृढ इच्छाशक्ति हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
उहाँका अनुसार, पोखरालाई अन्तर्राष्ट्रियस्तरको गन्तव्यका रूपमा स्थापित गर्न यातायात, होटल, गाइड, सुरक्षा, हस्पिटालिटी र स्थानीय समुदायको सशक्त सहभागिता सुनिश्चित गर्नुपर्छ । साथै, पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय उडान सञ्जालको प्रवद्र्धन, र पर्यटन कार्यक्रमहरूको विविधता जस्ता पक्षहरूलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको धारणा छ ।
तपाईको प्रतिक्रिया