जल, जमिन र आकाश लक्षित महोत्सवले गुल्जार पोखरा
- Pokhara Express
- २०८१ पौष १४ आइतबार
जमुना बर्षा शर्मा
१४ पुष ,पोखरा ।
अङ्ग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा गुलजार बनेको छ। जल, जमिन र आकाश लक्षित महोत्सवले स्वदेशी र विदेशी पर्यटक आकर्षित मात्रै गरेको छैन, यहाँको पर्यटकीय गतिविधि चलायमान बनाएको छ।
स्थानीय किसान, व्यवसायी, र कलाकारले आफ्नो उत्पादन प्रदर्शन गर्दै नयाँ बजारको पहुँच पाएका छन्। विभिन्न जातजातिका परम्परा, साङ्गीतिक झाँकी र कला प्रदर्शनी प्रस्तुत गरेर सांस्कृतिक विविधतालाई उजागर गर्दै आएको महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको संयोजक विकास भट्टराईको भनाइ छ।
पहिलो पटक आयोजना गरिएको बीवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटकीय महत्वलाई अझै उचाइमा पुर्याइएको छ। फेवातालको शिरानमा सुरु भइरहेको यो महोत्सवमा नेपालसहित १५ देशका पाइलटले सहभागिता जनाएका छन्। रङ्गिन र विभिन्न आकार र डिजाइनका १७ वटा भव्य बेलुन आकाशमा उडिरहँदा आकाश शृङ्गारिएको छ भने तालमा देखिने सुन्दर दृश्य अवर्णित छन्।
पर्यटकले आकाशबाट हिमालय शङ्खला, हरियाली र फेवातालको सौन्दर्यको अनुभव गर्दै पोखरालाई नयाँ दृष्टिकोणबाट नियाल्न सकेको पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन्।
“यो महोत्सवले पर्यटकको बसाइँ लम्ब्याउने मात्र नभई अन्तर्राष्ट्रिय मिडियामा समेत ध्यानाकर्षण गरेको छ”, पहारीले भने, “यो महोत्सवले पोखरालाई साहसिक र मनोरञ्जनात्मक गतिविधिको आकर्षक गन्तव्यका रूपमा स्थापित गरेको छ।” बेलुन महोत्सव, ड्रागन बोट रेस र सडक महोत्सवले पोखराको पर्यटकीय महत्वलाई नयाँ उचाइमा पुर्याउँदै पर्यटनमा नयाँ आयाम थपेको उनको भनाइ छ।
बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेका अनुसार बेलुन महोत्सवले मनोरञ्जन मात्र होइन, साहसिक पर्यटनको नयाँ ढोका खोल्दै पोखरालाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रबिन्दु बनाउने प्रयास गरिरहेको छ।
आजदेखि फेवातालमा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसले पोखरामा पर्यटनमा रौनक थपेको छ। नेपाल, चीन, र सिङ्गापुरका २० टोलीबीचको यो प्रतिस्पर्धाले खेलकुद र पर्यटनलाई जोड्ने कार्य गरिरहेको छ।
बेलुन नेपाल प्रालिका बीबी ढकालले नेपालको हट एयर बेलुनले अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा पाएको उल्लेख गरे। “महोत्सवबारे अन्तर्राष्ट्रिय अखबारले पहिलो पृष्ठमै तस्बिर प्रकाशित गरेका छन्, यसबाट नेपालको पर्यटन प्रवर्द्धनमा यसले ठूलो सहयोग पुगेको हाम्रो विश्वास छ।”
पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, र नेपालस्थित चिनियाँ दूतावासको सहकार्यमा आयोजित महोत्सवले फेवाताललाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा चिनाउने विश्वास लिइएको छ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले महोत्सवले साहसिक गतिविधिमा पोखराको भूमिका विस्तार गर्न यस महोत्सवले सघाउने विश्वास व्यक्त गरे। “ड्रागन बोट रेसको रोमाञ्चकता, बेलुन महोत्सवको साहसिकता, र सडक महोत्सवको सांस्कृतिक झल्कोले पोखरालाई त्रिकोणीय महोत्सवको उत्कृष्ट उदाहरण बनाएको छ।”
त्रिकोणीय महोत्सवले पोखराको सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, स्थानीय उत्पादनलाई उजागर गर्दै अर्थतन्त्र र पर्यटनमा दीर्घकालीन योगदान पुर्याउने सफल हुने उनको विश्वास छ। पर्यटकीय राजधानी पोखरामा अहिले भइरहेका महोत्सवले साहसिक पर्यटनको सम्भावना र नेपाली पर्यटनको उज्ज्वल भविष्यप्रति सकारात्मक सङ्केत गरेको र दीर्घकालीन पर्यटनमा पनि प्रभाव पार्ने उनको बुझाइ छ।
प्रदेशसभा सदस्यसमेत रहेकी पर्यटन व्यवसायी देवका पहारीले त्रिकोणीय महोत्सव सडक महोत्सव, बेलुन महोत्सव र ड्रागन बोट रेस पोखराको पर्यटनलाई नयाँ ऊर्जा र पहिचान प्रदान गर्ने महत्त्वपूर्ण माध्यम बनेको बताइन्।
“यी गतिविधिले केवल पोखराको सांस्कृतिक र प्राकृतिक सम्पदाको उजागर मात्र नगरी स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सफल भएको छ।” उनले पोखराको फेवाताल, हिमालय, र सांस्कृतिक विविधताले भरिएको यो अनुभवले साहसिक खेलकुद, साङ्गीतिक उत्सव, र मौलिक उत्पादनको प्रदर्शनले पोखरालाई नयाँ उचाइमा पुर्याएको सुनाइन्।
यी महोत्सवले नेपाली पर्यटनमा थप आयाम थप्ने विश्वासका साथ, पोखरा अब सांस्कृतिक, साहसिक र मनोरञ्जनात्मक पर्यटनका लागि विश्वका शीर्ष गन्तव्यमध्ये एक बन्ने दिशामा अग्रसर देखिएको उनको भनाइ छ।
तपाईको प्रतिक्रिया