सूचना प्रबिधिसंगै म्याग्दीमा कटुवाल प्रथा
- Pokhara Express
- २०८१ असोज २७ आइतबार

रासस
म्याग्दीको बेनी नगरपालिका– ९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका–२ ज्यामरुककोटका ७१ वर्षिय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आएका छन्।गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर सूचना पुर्याउन डाँडा उक्लिहाल्छन्। सदरमुकामसँगै जोडिएकोले यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन। गाउँमा इन्टरनेट, विद्युत्, मोबाइल, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायत सञ्चारसाधनको राम्रो पहुँच छ तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई भ्याइनभ्याइ छ।
विशेषगरी गाउँको सरसफाइका लागि प्रत्येक हप्ताको शनिबार समुदायलाई जुटाउनका लागि कलुवाल कराउनुहुन्छ । यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायलाई सूचना पुर्याउने जिम्मा उनकै काँधमा छ। म्याग्दीका ६ वटै स्थानीय तहका प्रायः सबै गाउँमा अझै पनि कटुवाल प्रथा कायमै छ। सञ्चार तथा सूचना प्रविधिको पहुँच विस्तार गरी परम्परागत प्रथालाई आधुनिकीरण गर्दै लैजानेतर्फ भने कसैको पनि ध्यान पुग्न नसकेको पत्रकार हरिकृष्ण गौतमको भनाइ छ।
यसरी परम्परागत प्रथा जोगाउन महत्त्वपूर्ण भूमिका खेले पनि उनीहरूको पारिश्रमिक भने न्यून छ। बगरफाँटमा एक सय ९७ घरधुरी छन्। तीमध्ये बसाइँसराइका कारण कैयौं घर खाली छन्, कतिपय घरमा गाउँ बाहिरबाट आएका मानिस भाडामा बसेका छन्। बसोबास गर्नेहरूबाट विकले वर्षभरको ज्याला प्रतिघर दुई पाथी अन्न मात्र पाउने गरेका छन्। यसले जीविका धान्न मुस्किल भइरहेको उनको गुनासो छ।
‘सूचना हुदाँ भोकै घरबाट निस्किन्छु, पूरै गाउँ डुलेर सूचना भन्दाभन्दै जहाँ पाइन्छ त्यही खान्छु,’ दिलबहादुरले भने, ‘केही सूचना नभएको दिन जे पाउँछ त्यही ज्याला मजदुरीमा काम गर्छु!’
आफ्नो पीडा कसलाई सुनाउनु!
गाउँलेलाई सूचना र खबर सुनाउने दमाईले आफ्नो पीडा सुनाउने ठाउँ भने कतै नपाएको बताए।
पीडाको पहाडले मलाई थिचेको छ। एकमात्रै छोराको उपचारको क्रममा मृत्युपछि अपांगता भएकी श्रीमती र दुई नातिलाई बिहान–बेलुकी ‘हातमुख जोड्ने’ खर्च जुटाउनेदेखि आफ्नो नियमित जिम्मेवारी पूरा गर्नैपर्छ। छोरोको उपचारमा लागेको ऋण अहिलेसम्म तिर्न सकेको छैन। कहिलेकाहिँ त पेटभरी खाने अन्न पनि हुँदैन,’ दिलबहादुरले दुःखेसो पोखे, ‘एक्लो कमाइले श्रीमती, दुई नातिलाई पेटभरी खान समेत पुग्दैन। कटुवाल कराएबापत समुदायस्तरबाट आउने खाद्यान्न नपुगेपछि सहयोग माग्दै हिड्ने गरेको छु।’
उनले गाउँलेका सूचना दिने कर्ममा लागेको मान्छेले आफ्नै सूचना सुनाउने ठाउँ नपाउँदा खिन्न हुने गरेको सुनाए।
एउटा नातिको आँखामा समस्या छ, उपचारका लागि पैसा छैन । अरूले जस्तै राम्रो लाउने र मीठो खाने चाहना राख्छन् तर आफ्नो कमाइले पुग्दैन,’ दिलबहादुरले भने।
कटुवाल पेसाले परिवारको गुजारा जसोतसो चले पनि नातिको शिक्षादीक्षा, उपचारमा सहयोगको खोजीमा रहेको उनको भनाइ छ।
उनीलगायत लामो समयदेखि कटुवालको काम गर्दै आएका यहाँका सबैजसोलाई आजभोलि अन्न बालीभन्दा पनि काम गरेबापत नगद पाउन पाए हुन्थ्यो भन्ने लागेको छ। आफ्नो कामबापत आउने अन्नबालीको सट्टा पैसा दिएमा छोराको उपचारमा लागेको ऋण तिर्ने र नातिको उपचार गर्न सहज हुने दिलबहादुर बताउँछन्।
बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसी दिलबहादुरको इमान्दारिता र सूचना प्रवाह गर्ने भूमिकाको तारिफ गर्छन्।
उहाँलाई सूचना प्रवाहमा सहज बनाउने छौं। वडाबाट सक्ने सहयोग गरिएको छ, अझै पनि थप प्रोत्साहन गर्छौं,’ वडाध्यक्ष केसीले भने।
कटुवालको सहजताका लागि हाते–माइकको व्यवस्था गर्नसमेत माग गरिएको छ।
बेनीसहित सबै गाउँपालिकामा अझै पनि कटुवाल प्रथा कायम नै छ। त्यसैले सूचना प्रवाहमा सहजता ल्याउन प्रविधि सहयोग र यस काममा लागेका हामीहरूको जीविकोपार्जनलाई ध्यानमा राखेर आवश्यक काम गर्न हाम्रो आग्रह छ,’ कटुवाल विकले भने।
तपाईको प्रतिक्रिया