बाँझापाटनको कालरात्री फेस्टिभल
- Pokhara Express
- २०८१ असोज २१ सोमबार
सल्लाघारीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्य
पोखरा, २१ असोज ।
पोखरा १३ मा रहेको सल्लाघारी डाँडामा पार्क निर्माण हुने भएको छ । स्थानीय श्री सत्य युवा सेवा समितिले सो ठाउँमा रमणीय पार्क निर्माण गर्न लागेको हो ।
‘सल्लाघारीमा निर्माण हुने पार्कले पोखरामा एउटा पर्यटकीय गन्तव्य थपिने र पोखरा १३ को पर्यटन प्रवद्र्धनसमेत हुने भएकाले हामीले यो निर्णय गरेका हौँ,’ सत्य युवा सेवा समितिका अध्यक्ष हितमान गुरुङले भने,‘ पार्कसम्म जानको निम्ति सिँढी पनि बनाइने छ । पार्कमा पुग्नेहरुले पोखराको उत्तरपूर्वी क्षेत्रको रमणीय दृष्य हेर्न पाउनेछन् । पोखराको नजिकको क्षेत्रमा एउटा बनभोज स्थल पनि थपिने छ ।’
उनका अनुसार सल्लाघारीमा पार्क निर्माणको लागि गण्डकी प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले १० लाख रुपैयाँ विनियोजन गरेको छ । तर, सो रकमले मात्र नपुग्ने र थप पूर्वाधारसमेत निर्माण गर्नुपर्ने आवश्यकता भएको पनि उनको भनाइ छ । त्यही आवश्यकतालाई पूरा गर्न सत्य सेवा समितिले आउँदो असोज २५ गते १९ औं संस्करणको ‘कालरात्री म्युजिकल फेस्टिभल–२०८१’ आयोजना गर्ने भएको पनि उनले जनाए ।
अध्यक्ष गुरुङका अनुसार कालरात्री म्युजिक फेस्टिभलमा पूर्ण राई एण्ड दाजुभाइहरु,दी ड्रिमेज ब्याण्ड, नेपाल आइडलको अन्तिम ५ मा पुगेका मानव परियार, रोहनजंग कार्कीलगायतको प्रस्तुति रहने छ । सो कार्यक्रमको संचालन चाहिँ आयुष श्रेष्ठले गर्नेछन् । गीत–संगीतमार्फत् मनोरञ्जन प्रदान गर्नुका साथै युवाहरुलाई रचनात्मक कार्यमा लगाउने उद्देश्यले कालरात्री म्युजिक फेस्टिभल आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।
‘कालरात्री म्युजिक फेस्टिभल परम्पराको निरन्तता पनि हो, युवाहरुलाई एकै ठाउँमा भेला गराउने अवसर पनि हो,’अध्यक्ष गुरुङले भने,‘ तर, यो पटक हामीले नयाँ रचनात्मक काम पनि गर्दैछौं । पर्यटनको राजधानी पोखरामा थप एउटा पर्यटकीय गन्तव्य पनि निर्माण हुँदैछ ।’
फेस्टिभललाई देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको बताउँदै उनले सबै सहयोगीलाई धन्यवाद ज्ञापन पनि गरे । बाँझापाटनमै हुने कार्यक्रमको अनलाइन टिकट बुकिङ भइरहेको छ । टिकट दर ५ सय र १ हजार कायम गरिएको छ ।
तपाईको प्रतिक्रिया