पोखरा, १६ वैशाख ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को टोली पोखराको पर्यटन प्रवद्धनका लागि दुबई प्रस्थान गरेको छ । शनिबार पाेखरामा एक कार्यक्रमकाबीच टाेलीलाई विदाई गरिएको छ ।
विदाई कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले महिला पर्यटन व्यवसायीको दुबई भ्रमणले पोखरा र देशकै पर्यटन प्रवद्धनमा महत्वपूर्ण योगदान पुग्ने बताइन् । उनले दुबई आउने पर्यटकलाई पोखरा आकर्षित गर्न र त्यहाँ दिइने सेवाको बारेमा जानकारी लिएर पोखरामा पनि प्रयोग गर्न सकिने धारणा राखिन् ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रवद्धनमा महिला पर्यटन व्यवसायीको दुबई भ्रमणले थप टेवा पुग्ने बताए ।
विदाई कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण काकी, होटलसंघ पोखराका केन्द्रीय सदस्य भरतराज पराजुली, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी र ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली लगायतले भ्रमणको सफलताको शुभकामना दिएका थिए ।
ओटेफ अध्यक्ष उमा भण्डारीले पोखरालाई पर्यटकीय राजधानी घोषणा पछिको पहिलो कार्यक्रम पर्यटन प्रवद्धनमा सफल बन्ने बताइन् । उनले त्यहाँको आतिथ्य संस्कारको बारेमा जानकारी लिनुका साथै त्यहाँको पर्यटकलाई स्वागत सत्कार गर्ने शैली, सेवा प्रवाह आदिको बारेमा जानकारी लिने बताइन् ।टोली ४ मेमा स्वदेश फर्कने छ ।
तपाईको प्रतिक्रिया