कास्कीको पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
- Pokhara Express
- २०८३ कातिर्क ९ आइतबार
कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ ।
विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले विसं २०७६ देखि जिल्लामा पशुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गरिरहेको छ । जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा पशुमा दुई लाख १२ हजारभन्दा बढी मात्रा खोप लगाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका पाँचवटै स्थानीय तहका ३२ हजार ७९४ पशुपालक घरपरिवारलाई समेटेर दुई लाख १२ हजार ४७० मात्रा खोप लगाइएको हो ।खोप कार्यक्रमबाट खोरेत, पिपिआर, लम्पी स्किन, रेबिजलगायत पशुमा लाग्ने रोगको जोखिम न्यूनीकरणमा सहयोग पुगेको कार्यालयका प्रमुख डा ग्रिष्म न्यौपानेले जानकारी दिए । “पशुमा महामारीजन्य रोगको सङ्क्रमण नियन्त्रण गर्न समयमै खोप लगाउनु महत्वपूर्ण हुन्छ । नियमित खोप कार्यक्रमले पशुमा रोग लाग्ने र फैलिने जोखिम घटाउनाका साथै पशुको स्वास्थ्य संरक्षण, उत्पादन तथा उत्पादकत्व वृद्धि र पशुबाट मानिसमा सर्न सक्ने जुनोटिक रोग नियन्त्रणमा पनि सहयोग पुगेको छ । पूर्ण खोप कार्यक्रमपछि विगतका तुलनामा खोरेत लगायतका महामारीजन्य रोग धेरै नै कम भएको छ,” कार्यालय प्रमुख डा न्यौपानेले भने ।
कार्यालयका अनुसार गत आवमा खोरेत रोगविरुद्ध ८० हजार ६२६, पिपिआरविरुद्ध ८७ हजार ४७२, लम्पी स्किनविरुद्ध ३२ हजार ३२७, रेबिजविरुद्ध आठ हजार ४२९, क्लासिकल स्वाइन फिभरविरुद्ध दुई हजार ५३ र डिएचपिपिएल खोप एक हजार ४०० मात्रा लगाइएको थियो ।
पूर्ण खोप कार्यक्रमका लागि गत वर्ष रु एक करोड ५० लाख बजेट विनियोजन गरिएकामा रु एक करोड ३४ लाख ९२ हजार ७५० खर्च भएको थियो । खोप कार्यक्रम सञ्चालनका लागि जिल्लामा १७२ जना खोपकर्तालाई परिचालन गरिएको थियो । कार्यालय प्रमुख डा न्यौपानेले भने,“कार्यक्रमले पशुपालकलाई पशुमा रोग लागेपछि उपचार गर्ने अवस्थाबाट रोग लाग्न नदिन पूर्वतयारी गर्ने अभ्यासतर्फ प्रोत्साहित गरेको छ ।”
पशुमा महामारीजन्य रोग फैलिँदा पशु मर्ने, उत्पादन घट्ने र पशुपालकले आर्थिक क्षति व्यहोर्नुपर्ने भएकाले नियमित खोप, रोगको निगरानी र समयमै उपचारलाई प्राथमिकता दिनुपर्ने हुन्छ । पशुबाट मानिसमा सर्न सक्ने रोगको जोखिम घटाउन पनि पशु स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेको पशु विकास अधिकृत सहदेव पौडेलले बताए । स्रोत :रासस
तपाईको प्रतिक्रिया