धनकुटाका सडकका दुवैतर्फ बेसार खेती
- Pokhara Express
- २०८३ असोज ५ सोमबार
पोखरा एक्सप्रेस ,धनकुटा ।
केही समयअघिसम्म सडक छेउछाउमा देखिने खाली जमिनमा कतै झारपात उम्रिएका मात्रै भेटिन्थ्यो । सडकबाट आवतजावत गर्नेहरुका लागि ती ठाउँ केवल खाली क्षेत्रजस्तै थिए । तर, अहिले त्यही जमिनको स्वरुप फेरिन थालेको छ । सडकको दुवैतर्फ हरिया बेसारका बोट देखिन थालेपछि दृश्यमा परिवर्तन आएको छ ।
खाली र उपयोगविहीन देखिने जमिन अहिले हरियालीसँगै उत्पादनको सम्भावना बोकेको क्षेत्रमा परिणत हुन थालेको छ । धनकुटा नगरपालिकाले सडक आसपासका खाली जमिनमा बेसार खेती सुरु गरेपछि यस्तो परिवर्तन आएको हो ।
सडक क्षेत्रको खाली जमिनलाई उत्पादनसँग जोड्ने, हरियाली बढाउने र स्थानीय समुदायलाई कृषि गतिविधिमा आकर्षित गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले बेसार खेती विस्तार सुरु गरेको हो ।
नगरपालिकाले यसलाई तत्काल ठूलो आर्थिक आम्दानी गर्ने योजनाभन्दा पनि खाली जमिनको सदुपयोग, वातावरण संरक्षण र भविष्यमा कृषि उत्पादन विस्तार गर्ने आधारका रुपमा अघि बढाएको धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले बताए ।
कोशी राजमार्गअन्तर्गत धनकुटा नगरपालिकाको सरस्वती चोकदेखि सल्लेरी ब्यारेकसम्मको सडक खण्डमा अहिले सडक छेउछाउका खाली जमिनमा बेसार खेती गरिएको छ । नगरभित्रका अन्य भित्री सडक छेउछाउमा रहेका खाली ठाउँमा समेत बेसार रोपिएको छ ।
कोशी राजमार्गको सरस्वती चोकदेखि सल्लेरी खण्डसहित नगरभित्रका विभिन्न सडक क्षेत्रमा गरी करिब ७ रोपनी क्षेत्रफलमा बेसार खेती विस्तार गरिएको नगरपालिकाका वातावरण शाखा प्रमुख खनालले जानकारी दिए । तत्काल आम्दानी लिनुभन्दा पनि सडक छेउछाउ र अन्य खाली जमिनको सदुपयोग गर्नु मुख्य उद्देश्य रहेको खनालले बताए ।
खाली जमिनमा हरियालीको सुरुवात
सहर तथा सडक क्षेत्रको विकास भन्नासाथ सडक, नाली, भवन र भौतिक पूर्वाधार मात्र हो भन्ने सामान्य बुझाइ रहेको पाइन्छ । तर, सडक छेउछाउमा रहेका साना ठूला खाली क्षेत्रको व्यवस्थापन पनि नगरको सौन्दर्य र वातावरणका लागि महत्वपूर्ण रहेको हुन्छ ।
धनकुटा नगरपालिकाले यही पक्षलाई ध्यानमा राखेर सडक छेउछाउका खाली जमिनमा बेसार रोपेको धनकुटा नगरपालिकाका प्रमुख प्रशाुकिय अधिकृत दशरथ राईले बताए । बेसारका बोट हुर्कंदै गएपछि सडक छेउछाउमा हरियाली देखिन थालेको छ । यसले सडक क्षेत्रलाई केही आकर्षक बनाउनुका साथै खाली जमिनलाई उपयोगमा ल्याउने आधार तयार गरेको राईले बताए ।
यस अभियानको अर्को उद्देश्य स्थानीय किसान, कृषक समूह र सामुदायिक वन समूहलाई समेत खाली जमिनमा उत्पादनमूलक काम गर्न प्रेरित गर्नु रहेको नगरपालिकाले जनाएको छ ।
बाँदरको समस्याको विकल्प बेसार खेती
धनकुटाका किसानले पछिल्लो समय बाँदरबाट हुने क्षतिको समस्या भोग्दै आएका छन् । खेतबारीमा लगाइएका विभिन्न बालीमा बाँदरले क्षति पुर्याउने भएपछि कतिपय किसान कृषि उत्पादनबाटै निरुत्साहित हुने अवस्था आएको छ । धेरै जसो मकै तथा धान खेती हुने क्षेत्रमा बाँदरकै समस्याका कारण किसान खेतीबाट विस्तापित भइसकेका छन् । यस्तो अवस्थामा बेसार खेती किसानका लागि एउटा वैकल्पिक बालीका रुपमा देखिएको छ । बेसारमा अन्य कतिपय बालीको तुलनामा बाँदरबाट तथा वन्यजन्तुबाट हुने क्षति कम हुने भएकाले यसको खेती विस्तार गर्न सकिने सम्भावना रहेको नगरपालिकाको बुझाइ छ ।
खाली जमिनमा बेसार खेती विस्तार गर्दा एकातिर जमिनको उपयोग हुन्छ भने अर्कोतिर किसानलाई तुलनात्मक रुपमा कम जोखिम हुने बालीतर्फ आकर्षित गर्न सकिने अपेक्षा गरिएको प्रमुख प्रशासकिय अधिकृत राईले बताए ।
बीउ उत्पादन गरेर किसानलाई बाँड्ने योजना
बेसार खेती विस्तारका लागि धनकुटा नगरपालिकाले गत आर्थिक वर्षमा प्रतिकिलो एक सय रुपैयाँका दरले एक सय किलो बेसारको बीउ खरिद गरेको थियो । त्यही बीउबाट अहिले विभिन्न क्षेत्रमा खेती विस्तार गरिएको हो । सुरुवातका लागि ठूलो क्षेत्रफल आवश्यक नपर्ने र उत्पादन भएपछि आफ्नै बीउबाट थप क्षेत्र विस्तार गर्न सकिने भएकाले नगरपालिकाले बेसारलाई प्राथमिकतामा राखेको हो ।
एकपटक रोपिएको बालीबाट बीउ जोगाएर अर्को वर्ष थप क्षेत्रफलमा खेती गर्न सकिने भएकाले यस अभियानलाई क्रमश: विस्तार गर्दै लैजाने नगरपालिकाको योजना रहेको छ । धनकुटा नगरपालिकाले अहिले सुरु गरेको बेसार खेतीलाई एउटा नमुना परियोजनाका रुपमा अघि बढाएको छ ।
हाल रोपिएका बेसारबाट उत्पादन हुने बीउलाई आगामी वर्षहरुमा थप क्षेत्रमा खेती विस्तार गर्न प्रयोग गर्ने नगरपालिकाको तयारी छ । नगरपालिकाले उत्पादन भएको बेसारको बीउ खेती गर्न चाहने किसान, कृषक समूह तथा सामुदायिक वन समूहलाई उपलब्ध गराउने योजना बनाएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।
सडक आसपासमा सुरु भएको बेसार खेती केही रोपनी जमिनमा सीमित नराखी यसबाट उत्पादन भएको बीउलाई अन्य क्षेत्रमा विस्तार गर्दै नगरभित्र खाली रहेका सरकारी, ऐलानी तथा प्रति जग्गासमेत उत्पादनसँग जोड्ने सोच नगरपालिकाको रहेको तामाङले बताए ।
नगरपालिकाको स्वरोजगार कार्यक्रममा आबद्ध व्यक्तिहरूलाई बेसार खेतीको गोडमेल तथा हेरचाहमा परिचालन गरिएको छ । उनीहरुले बेसारको गोडमेलसँगै सडक क्षेत्रको सरसफाइ, फलफूलका बिरुवा रोप्ने, बिरुवाको छाँटकाँट गर्नेलगायतका काम गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया