पोखरा एक्सप्रेस ,काठमाडौँ ।
उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा संविधानसभाका तीन सदस्यलाई जेल सजाय र जरिवाना हुने फैसला सुनाएको छ । काठमाडौँ जिल्ला अदालतको फैसलालाई उच्च अदालत पाटनले सदर हुने फैसला सुनाएको हो।
गत असार २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासबाट संविधानसभा सदस्य गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादव राहदानी ऐन विपरीतको कसुरमा दोषी ठहर हुने जिल्लाको फैसला सदर गरेको छ । फैसलाको पूर्ण पाठ भने आउन बाँकी छ ।
काठमाडौँ जिल्ला अदालतले ०७१ साल जेठ २१ गते तत्कालीन संविधानसभा सदस्य गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई जनही पाँच महिना कैद र ५०० रुपैयाँ जरिबानाको फैसला सुनाइएको थियो ।
यो मुद्दामा बिचौलियाको अभियोग लगाइएका डिलबहादुर घर्ती, गोपाल बानियाँँ, मनोजकुमार कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई पनि कीर्ते कागज कसुरमा दोषी ठहर गरिएको छ । उनीहरूलाई जनही एक वर्ष कैद र पाँच लाख ५४ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
जिल्ला अदालतले नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेका म्याग्दीका पृथ्वी छन्त्याललाई एक वर्ष कैद र ५०० रुपैयाँ जरिबानाको सजाय सुनाएको थियो । गायत्री, विश्वनाथप्रसाद र शिवपुजनले संविधानसभा सदस्यको हैसियतमा प्रदान गरिएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभका निम्ति बिचौलियालाई बिक्री गरेको प्रहरीको आरोप थियो । उनीहरू ०६४ सालको संविधानसभा सदस्य हुन् ।
तपाईको प्रतिक्रिया