पोखरा एक्सप्रेस , गोरखा ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को मारेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड १८ लाख राजस्व सङ्कलन गर्न सफल भएको त्यस पालिकाले जनाएको छ ।तीन वर्षअघि जम्मा रु ११ लाख १२ हजार राजस्व सङ्कलन गरेको उक्त पालिकाले अघिल्लो आवमा भने रु एक करोड ४९ लाख ५६ हजार राजस्व सङ्कलन गरेको थियो । मनासलु क्षेत्र भ्रमण गर्न आउने पर्यटकबाट भ्रमणबापतको शुल्क उठाउन थालेपछि पालिकाको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।
पालिकाले गत आवबाट मनास्लु आउने पर्यटकबाट शुल्क लिन थालेको हो । प्रतिव्यक्ति रु एक हजारका दरले शुल्क उठाउने गरेको लामिछानेले जानकारी दिए । गाउँपालिकाले आव २०८०/८१ मा अन्तरिक राजस्वबापत जम्मा रु २७ लाख १४ हजार सङ्कलन गरेको थियो ।“पर्यटन शुल्कसँगै पालिकाले नदीजन्य सामग्री उत्खननबापतको कर सङ्कलनलाई पनि व्यवस्थित बनाएको छ”, उनले भने, “पहिले चिट काटेर कर उठाइन्थ्यो, जसले राजस्व चुहावट हुने जोखिम बढी हुन्थ्यो । अहिले भने अनलाइनमार्फत नै कर सङ्कलन सुरु गरेका छौँ ।”
यस्तै गत वर्षबाट मात्रै गाउँपालिकाले पालिकाको कार्यालयमै व्यवसाय दर्ता गर्ने तथा प्यान नम्बर उपलब्ध गराउन सुरु गरेको छ । यसले पनि राजस्व वृद्धिमा थप सहयोग पुर्याएको छ ।
पर्यटनबापतको कर सङ्कलन गर्न सुरु भएसँगै पालिकाको राजस्व उल्लेखनीय रूपमा वृद्धि भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । “आगामी वर्षमा तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ”, उनले भने, “जति धेरै राजस्व सङ्कलन गर्न सक्यो सङ्घबाट त्यति नै बजेट बढेर आउँछ । राजस्व बढ्दा पालिकाको आर्थिक विकासमा सहयोग पुग्छ ।”
पर्यटन शुल्कबाट धेरै राजस्व सङ्कलन भएकाले सो राजस्व पनि पर्यटन क्षेत्रको पूर्वाधार निर्माणमा धेरै प्रयोग गर्ने अध्यक्ष लामाको भनाइ छ ।
तपाईको प्रतिक्रिया