पोखरा एक्सप्रेस ,पोखरा ।
पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पालाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले स्तरीकरण गरेको छ। ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने नारासहित कार्यालयले स्थलगत अनुगमन तथा मूल्याङ्कन गरेको हो।
होटल, रेष्टुरेन्ट, चमेना गृह तथा क्याटरिङ व्यवसाय स्तरीकरण कार्यविधिअनुसार गरिएको मूल्याङ्कनमा टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले १०० अंकमध्ये ९२ अंक प्राप्त गर्दै तीन तारा अंकित ‘अति उत्तम’ श्रेणीको हरियो स्टिकर तथा प्रमाणपत्र प्राप्त गरेको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले लेकसाइडका अन्य होटल तथा रेष्टुरेन्टहरूलाई समेत कार्यक्रम आयोजना गरी स्तरीकरण प्रमाणपत्र तथा लोगो वितरण गरेको छ।
स्तरीकरणका क्रममा पानीको भण्डारण, पानी परीक्षणसम्बन्धी कागजात, कर्मचारीको तालिम तथा स्वास्थ्य परीक्षण (मेडिकल) प्रमाणपत्र, फ्रिज र भान्साको तापक्रम, खाद्य पदार्थको भण्डारण, उपकरणहरूको सरसफाइ तथा बाह्य वातावरणको स्वच्छतालगायतका विषयमा मूल्याङ्कन गरिएको टेम्पल ट्रि रिसोर्टका एडमिन तथा एचआर प्रमुख रामकृष्ण कँडेलले जानकारी दिए।
तपाईको प्रतिक्रिया